अमेरिकी बीमा कम्पनीहरूले पहिलो त्रैमासमै ६.२ अर्ब डलर बीमितलाई फिर्ता गरे
काठमाडौ, ६ साउन । अमेरिकाका सम्पत्ति तथा दुर्घटना (प्रोपर्टी एन्ड क्याजुअल्टी) बीमा कम्पनीहरूले सन् २०२६ को पहिलो तीन महिनामै आफ्ना बीमित व्यक्ति तथा व्यवसायलाई ६.२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम लाभांश र अन्य माध्यमबाट फिर्ता गरेका छन्।
जुन महिनाको अन्त्यमा सार्वजनिक गरिएको उद्योग विश्लेषणअनुसार बीमा कम्पनीहरूको वित्तीय अवस्था बलियो बन्दै गएपछि बीमितलाई प्रतिफल वितरण गरिएको हो। विश्लेषणले कठिन बजार अवस्था क्रमशः सहज हुँदै गएको संकेत गरेको छ।
प्रतिवेदनअनुसार पहिलो त्रैमासमा बीमा क्षेत्रले करिब १५.८ अर्ब अमेरिकी डलर खुद अन्डरराइटिङ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा भने उद्योगले ८६ करोड ४० लाख डलर अन्डरराइटिङ घाटा व्यहोरेको थियो।
यस अवधिमा ठूला प्राकृतिक प्रकोपका घटना तुलनात्मक रूपमा कम हुनु, दाबी भुक्तानीमा दबाब घट्नु तथा मध्यम मुद्रास्फीतिले बीमा कम्पनीहरूको नाफामा सकारात्मक प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ।
बीमा उद्योगको नाफा मापन गर्ने प्रमुख सूचक संयुक्त अनुपात (कम्बाइन्ड रेसियो) गत वर्षको ९९.२ प्रतिशतबाट घटेर ९२.४ प्रतिशतमा झरेको छ। यसको अर्थ कम्पनीहरूले प्रिमियमबाट संकलन गरेको प्रत्येक एक डलरको तुलनामा दाबी र सञ्चालन खर्चमा एक डलरभन्दा कम खर्च गरेका छन्।
यद्यपि, प्रिमियम वृद्धिदर भने सुस्त देखिएको छ। पहिलो त्रैमासमा प्रिमियम वृद्धि २.९ प्रतिशत मा सीमित भएको छ। ग्राहकलाई गरिएको फिर्ता भुक्तानी र मुद्रास्फीतिको प्रभावलाई समायोजन गर्दा वास्तविक प्रिमियम आम्दानीमा उल्लेखनीय गिरावट आएको विश्लेषणमा उल्लेख गरिएको छ।
केही बीमा कम्पनीहरूले दर समायोजनपछि व्यक्तिगत सवारी बीमा (अटो पोलिसी) धारकलाई विशेष लाभांश वा प्रिमियम फिर्ता पनि दिएका छन्। यसबाट बढ्दो जीवनयापन खर्चको सामना गरिरहेका उपभोक्तालाई केही राहत पुगेको बताइएको छ।
सम्पत्ति बीमा क्षेत्रमा सुधार देखिए पनि दुर्घटना बीमालगायत केही क्षेत्रमा बढ्दो कानुनी विवाद र दाबीसम्बन्धी लागतका कारण चुनौती कायम रहेको प्रतिवेदनले औंल्याएको छ।
समग्रमा भने अमेरिकी बीमा उद्योगको वित्तीय अवस्था सुदृढ बन्दै गएको र त्यसको प्रतिफल बीमितहरूसँग बाँड्न कम्पनीहरू सक्षम भएको विश्लेषणमा उल्लेख छ। आगामी दिनमा बीमा नवीकरण दर थप स्थिर रहने अपेक्षा गरिएको भए पनि यसको प्रभाव स्थान र जोखिमको प्रकृतिअनुसार फरक हुन सक्ने जनाइएको छ।
विशेषज्ञहरूले आगामी आँधीबेहरी तथा प्राकृतिक विपद्को मौसमले उद्योगको हालको सकारात्मक प्रवृत्तिलाई कत्तिको निरन्तरता दिन्छ भन्ने विषयलाई नजिकबाट नियालिरहेका छन्।













प्रतिक्रिया दिनुहोस्