काठमाडौंमा जग्गाको सरकारी मूल्य बढ्यो, माइतीघर–दरबारमार्ग क्षेत्रमा प्रतिआना ७६ लाख २० हजार

काठमाडौ, ६ साउन । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै काठमाडौंका मालपोत कार्यालयहरूले जग्गाको नयाँ न्यूनतम मूल्य सार्वजनिक गरेका छन्। काठमाडौंका प्रमुख व्यापारिक तथा सहरी क्षेत्रमा जग्गाको सरकारी मूल्य बढाइएको छ।

मालपोत कार्यालय डिल्लीबजारअन्तर्गतका क्षेत्रमा सबैभन्दा उच्च सरकारी मूल्य कायम गरिएको छ। माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी, हात्तिसार, जयनेपाल, कान्तिपथ, जमल, दरबारमार्ग र कमलादी क्षेत्रका मूलबाटोसँग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ७६ लाख २० हजार रुपैयाँ तोकिएको छ।

गत वर्ष यी क्षेत्रको सरकारी मूल्य प्रतिआना ७२ लाख ६० हजार रुपैयाँ रहेको थियो।

यस्तै, केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल, क्षेत्रपाटी चोक, हनुमानढोका, इन्द्रचोक, असन, जमल राष्ट्रिय नाचघर तथा विश्वज्योति हलदेखि तीनधारा पाठशालासम्मका मूलबाटोसँग जोडिएका जग्गाको मूल्य पनि प्रतिआना ७६ लाख २० हजार रुपैयाँ निर्धारण गरिएको छ। रत्नपार्क, पुरानो बसपार्क र सहिदगेट क्षेत्रका जग्गाको सरकारी मूल्य पनि यही कायम गरिएको छ।

पुतलीसडक आसपासका जग्गाको सरकारी मूल्य प्रतिआना ५६ लाख रुपैयाँ तोकिएको छ। यसअघि यो क्षेत्रको मूल्य ५३ लाख २४ हजार रुपैयाँ थियो। यी क्षेत्रमा कच्ची तथा गोरेटो बाटोले छोएका जग्गाको मूल्य भने २२ लाखदेखि ३७ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ।

घरजग्गा व्यवसायीहरूले भने वास्तविक कारोबार सरकारी मूल्यभन्दा निकै बढी हुने गरेको बताएका छन्।

चावहिल क्षेत्रमा पनि मूल्य वृद्धि

मालपोत कार्यालय चावहिलअन्तर्गत गौशालादेखि धोबीखोलासम्म चक्रपथसँग जोडिएका जग्गाको मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ। यो क्षेत्रमा सरकारी मूल्य प्रतिआना ६२ लाख ७० हजार रुपैयाँ तोकिएको छ।

यसअघि उक्त क्षेत्रको मूल्य प्रतिआना ५७ लाख रुपैयाँ थियो। चावहिलअन्तर्गतका अन्य क्षेत्रमा पनि जग्गाको सरकारी मूल्य प्रतिआना ७० हजारदेखि पाँच लाख रुपैयाँसम्म बढाइएको छ।

कलंकी क्षेत्रमा प्रतिआना ४९ लाख ३५ हजारसम्म

मालपोत कार्यालय कलंकीअन्तर्गतका क्षेत्रको जग्गाको सरकारी मूल्य पनि बढाइएको छ। बल्खुदेखि बनस्थलीसम्म चक्रपथसँग जोडिएका जग्गाको मूल्य यसअघि प्रतिआना ४७ लाख रुपैयाँ रहेकोमा अब ४९ लाख ३५ हजार रुपैयाँ कायम गरिएको छ।

कालीमाटी र विष्णुखोला क्षेत्रका जग्गाको सरकारी मूल्य २३ लाखदेखि ४३ लाख रुपैयाँसम्म निर्धारण गरिएको छ। अघिल्लो वर्ष यी क्षेत्रको मूल्य २२ लाखदेखि ४१ लाख रुपैयाँसम्म थियो।

बाटो नपुगेका जग्गाको मूल्य सबैभन्दा कम

काठमाडौं जिल्लामा सबैभन्दा कम सरकारी मूल्य बाटो नपुगेका जग्गाका लागि तोकिएको छ। यस्ता जग्गाको मूल्य एक लाखदेखि १० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाको साविक बालुवा गाविसमा बाटो नछोएको जग्गाको मूल्य प्रतिआना एक लाख ४३ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै, वडा नम्बर १, २ र १० का बल्खु खोला तथा दक्षिण कीर्तिपुर चक्रपथ आसपासका केही क्षेत्रमा बाटो नपुगेका जग्गाको सरकारी मूल्य प्रतिआना एक लाख ६५ हजार रुपैयाँ निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्