मेची भन्सारको राजस्व ११ प्रतिशतले बढ्यो, लक्ष्यको ९३ प्रतिशत मात्र पूरा

काठमाडौ, ६ साउन । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय, काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा १ अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँ बढी हो। यससँगै कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको छ।

राजस्व असुलीमा सुधार भए पनि कार्यालयले सरकारले दिएको वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। गत आर्थिक वर्षका लागि १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएकोमा कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत मात्र हासिल गरेको जनाएको छ।

यसअघि आर्थिक वर्ष २०८१/८२ मा मेची भन्सार कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। त्यसको तुलनामा पछिल्लो वर्ष राजस्वमा उल्लेखनीय वृद्धि भएको हो।

मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाकामध्ये एक मानिन्छ। यस नाकाबाट पूर्वी नेपालमा उत्पादन हुने चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पी लगायतका कृषिजन्य वस्तु निर्यात हुने गरेका छन्। यस्तै पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री यही नाकामार्फत आयात हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्