लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रिन’ अभियान कार्यान्वयनमा डब्ल्यूडब्ल्यूएफ नेपाल प्राविधिक साझेदार
काठमाडौं, ५ साउन । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौती सामना गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै लक्ष्मी सनराइज बैंकले आफ्नो प्रमुख वातावरणीय अभियान ‘द गोल इज ग्रिन’ कार्यान्वयनका लागि डब्ल्यूडब्ल्यूएफ नेपाललाई प्राविधिक संरक्षण साझेदारका रूपमा आबद्ध गरेको छ।
यस अभियानअन्तर्गत फिफा वर्ल्डकप २०२६ का खेलमा हुने प्रत्येक गोल बराबर एउटा रूख रोप्ने प्रतिबद्धता बैंकले गरेको थियो। विश्वकै लोकप्रिय खेल प्रतियोगिताको उत्साहलाई वातावरण संरक्षणसँग जोड्दै नेपालमा दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यले बैंकले यो अभियान सञ्चालन गरेको हो।
‘द गोल इज ग्रिन’ अभियानले विश्वव्यापी खेलकुदको रोमाञ्चलाई स्थानीय स्तरको जलवायु तथा वातावरणीय संरक्षणसँग जोड्ने बैंकको अवधारणालाई प्रतिबिम्बित गर्छ। आकारका हिसाबले अभियान सीमित भए पनि वैज्ञानिक आधारमा योजना बनाई स्थानीय समुदायसँगको सहकार्यमा कार्यान्वयन गर्दा निजी क्षेत्रको लगानीले वातावरणीय पुनःस्थापनामा प्रभावकारी योगदान दिन सक्ने उदाहरणका रूपमा यसलाई लिइएको छ।
यस सहकार्यअन्तर्गत डब्ल्यूडब्ल्यूएफ नेपालले अभियानको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ। संरक्षण क्षेत्रमा लामो अनुभव र विशेषज्ञता हासिल गरेको डब्ल्यूडब्ल्यूएफ नेपालले लक्ष्मी सनराइज बैंकलाई स्थानीय संरक्षण साझेदार कामदी सिएफसिसी सँग जोडेको हो।
कामदी सिएफसिसीले उपयुक्त स्थानमा स्थानीय जैविक विविधताअनुकूल रैथाने प्रजातिका बिरुवा रोप्नुका साथै तिनको दीर्घकालीन संरक्षण तथा व्यवस्थापन गर्नेछ। डब्ल्यूडब्ल्यूएफ नेपालले प्रजाति छनोट, रोपाइँका लागि उपयुक्त क्षेत्र पहिचान तथा पारिस्थितिक अनुकूल पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन प्रदान गर्नेछ।
लक्ष्मी सनराइज बैंकको दिगोपनप्रतिको प्रतिबद्धता, डब्ल्यूडब्ल्यूएफ नेपालको प्राविधिक दक्षता र कामदी सिएफसिसीको समुदायमा आधारित संरक्षण अनुभवको संयोजनबाट ‘द गोल इज ग्रिन’ अभियानले विद्यमान संरक्षण प्रयासलाई थप सशक्त बनाउने, जैविक विविधता संरक्षणमा योगदान पुर्याउने र वन संरक्षणमा समुदायको दीर्घकालीन सहभागिता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
यस सहकार्यबारे लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, “लक्ष्मी सनराइज बैंकमा दिगोपन केवल हाम्रो रणनीतिक प्राथमिकता मात्र होइन, दीर्घकालीन मूल्य सिर्जनाको आधार पनि हो। ‘द गोल इज ग्रिन’ अभियानले सामूहिक उत्साहलाई सार्थक जलवायु अभियानमा रूपान्तरण गर्न सकिन्छ भन्ने हाम्रो विश्वासलाई उजागर गर्छ।”
उनले फिफा वर्ल्डकप २०२६ मा हुने प्रत्येक गोल बराबर एउटा रूख रोप्ने प्रतिबद्धतामार्फत नेपालका लागि दीर्घकालीन वातावरणीय योगदान गर्ने अपेक्षा व्यक्त गरे। डब्ल्यूडब्ल्यूएफ नेपालको संरक्षणसम्बन्धी विशेषज्ञता र समुदायसँगको अनुभवले अभियानलाई प्रभावकारी र दिगो बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
यसैगरी, कामदी सामुदायिक वन समन्वय समिति (कामदी सिएफसिसी) का अध्यक्ष महेन्द्र शाहीले लक्ष्मी सनराइज बैंक र डब्ल्यूडब्ल्यूएफ नेपालसँगको सहकार्यले जैविक मार्ग पुनःस्थापनासम्बन्धी प्रयासलाई थप बल पुर्याउने विश्वास व्यक्त गरे।
फिफा वर्ल्डकप २०२६ सम्पन्न भएपछि प्रतियोगिताका क्रममा भएका ३३३ गोल बराबर ३३३ वटा रैथाने बिरुवा रोप्ने आफ्नो प्रतिबद्धता लक्ष्मी सनराइज बैंकले पूरा गर्दै प्रत्येक गोललाई नेपालको हरित भविष्यसँग जोड्ने काम गरेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्