आन्तरिक राजस्व कार्यालय तुलसीपुरले ४ अर्ब ३० करोडभन्दा बढी राजस्व सङ्कलन
काठमाडौंं, ५ साउन । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२/८३ मा रु ४ अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ। यो वार्षिक लक्ष्यको ८५.२१ प्रतिशत रहेको कार्यालयका कर अधिकृत उपेन्द्र पुनले जानकारी दिए।
कार्यालयले उक्त आर्थिक वर्षमा रु ५ अर्ब ५ करोड ३३ लाख ६१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो।
सङ्कलित राजस्वमध्ये आयकरबाट रु २ अर्ब ३८ करोड ८१ लाख ५ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु १ अर्ब १८ लाख ६६ हजार, अन्तःशुल्कबाट रु ७७ करोड २६ लाख ९८ हजार तथा अन्य शीर्षकबाट रु १४ करोड ३४ लाख ५१ हजार सङ्कलन भएको कार्यालयले जनाएको छ। कुल राजस्व सङ्कलन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.९३ प्रतिशतले बढी हो।
करिब एक लाख करदाता रहेको यस कार्यालयको कार्यक्षेत्रमा दाङ, प्यूठान, रोल्पा, सल्यान, रुकुमपूर्व र रुकुमपश्चिम जिल्ला पर्छन्।
जेनजी आन्दोलनका क्रममा कार्यालय भवन, सवारीसाधन तथा महत्त्वपूर्ण कागजातमा क्षति पुगे पनि सेवा प्रवाह भने अवरुद्ध भएको थिएन। केही समय तुलसीपुर उद्योग वाणिज्य सङ्घको भवनबाट सेवा सञ्चालन गरेको कार्यालयले हाल त्रिसिद्धेश्वर मन्दिरको धर्मशाला भाडामा लिएर सेवा प्रदान गरिरहेको छ।
करदाताको क्षमता अभिवृद्धिका लागि गत आर्थिक वर्षमा कार्यालयले १८ स्थानमा करसम्बन्धी सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।
त्यसै आर्थिक वर्षमा कार्यालयबाट ४ हजार २९५ जनाले व्यवसायिक स्थायी लेखा नम्बर (PAN), २८ हजार ३८० जनाले व्यक्तिगत PAN तथा ४ हजार ९२२ जनाले अन्तःशुल्क इजाजतपत्र दर्ता वा नवीकरण गराएको कर अधिकृत पुनले जानकारी दिए।













प्रतिक्रिया दिनुहोस्