लेबलविहीन र मिसावटयुक्त सामान बेच्नेलाई कडा कारबाही गरिने विभागको चेतावनी

काठमाडौं, ४ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबलविहीन, मिसावटयुक्त, न्यून गुणस्तरका तथा चोरी पैठारी गरिएका सामानको बिक्री–वितरणमा संलग्न व्यवसायीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

विभागले सोमबार विज्ञप्ति जारी गर्दै गैरकानुनी व्यापारिक गतिविधिमा संलग्न व्यक्ति तथा व्यवसायलाई कानुनी दायरामा ल्याइने जनाएको हो।

विभागका अनुसार भौतिक बजारसँगै अनलाइन माध्यमबाट पनि दैनिक उपभोग्य खाद्यवस्तु, पेय पदार्थ तथा लत्ताकपडा अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी प्राप्त भइरहेका छन्।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै विभागले कानुनविपरीत हुने गतिविधिमाथि कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

विभागले मिसावट गर्ने, चोरी पैठारीका सामान बिक्री गर्ने, न्यून गुणस्तरका वस्तु बजारमा ल्याउने तथा कानुनविपरीत व्यापार गर्ने कार्य दण्डनीय रहेको स्पष्ट पारेको छ।

उत्पादन, पैठारी, ढुवानी, सञ्चय तथा बिक्री–वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका दायित्व, सर्त र बन्देजको पूर्ण पालना गर्न विभागले निर्देशन दिएको छ।

विभागले बजार अनुगमनलाई थप प्रभावकारी बनाइने र उपभोक्ताको स्वास्थ्य तथा अधिकारमाथि खेलबाड गर्ने जोसुकै व्यवसायीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्