किलियन एम्बाप्पे दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासका पहिलो खेलाडी बन्यो

काठमाडौं, ४ साउन । फ्रान्सका स्टार फरवार्ड खेलाडी किलियन एम्बाप्पे सन् २०२६ को फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासका पहिलो खेलाडी बन्न सफल भएका छन् । विश्कपमा फ्रान्सलाई जिताउन नसके पनि उनी भने सर्वाधिक गोलकर्ताको सम्मान जिते। यसले फ्रान्सलाई समेत इज्जत जोगाएको छ ।

एम्बाप्पेले प्रतियोगिताका आठ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई पछि पार्दै सर्वाधिक गोलकर्ताको सम्मान जिते।

उनले सन् २०२२ को कतार विश्वकपमा पनि आठ गोलसहित गोल्डेन बुट जितेका थिए। यससँगै उनी लगातार दुई संस्करणमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्न सफल भएका हुन् ।

२७ वर्षीय एम्बाप्पे सन् १९७० मा पश्चिम जर्मनीका गर्ड मुलरपछि एकै विश्वकपमा १० वा त्योभन्दा बढी गोल गर्ने पहिलो खेलाडी पनि बने।

विश्वकपको एउटै संस्करणमा फ्रान्सका जस्ट फन्टेनले सन् १९५८ मा १३ गोल तथा हंगेरीका सान्दोर कोचिसले सन् १९५४ मा ११ गोल गरेका थिए।

यस उपलब्धिसँगै एम्बाप्पे पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि बनेका छन्। उनका नाम अब २२ विश्वकप गोल पुगेका छन्, जुन मेसीभन्दा एक गोल बढी हो।

एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध दुई–दुई गोल गरेका थिए। त्यसपछि अन्तिम ३२ मा स्विडेन, अन्तिम १६ मा पाराग्वेविरुद्ध निर्णायक पेनाल्टी गोल तथा क्वाटरफाइनलमा मोरक्कोविरुद्ध पनि गोल गरेका थिए।

यता मेसीसँग फाइनलमा ह्याट्रिक गरे एम्बाप्पेलाई उछिन्ने अवसर थियो। तर ३९ वर्षीय अर्जेन्टिनी कप्तान स्पेनसँग १–० ले पराजित भएको फाइनलमा गोल गर्न सकेनन्। उनले प्रतियोगिता आठ खेलमा आठ गोलसहित समाप्त गरे।

इंग्ल्यान्डका जुड बेलिङम र नर्वेका एर्लिङ हालान्डले समान सात गोल गरे भने फ्रान्सका उस्मान डेम्बेले र इंग्ल्यान्डका कप्तान ह्यारी केनले समान छ गोल गरे।

स्पेनको व्यक्तिगत पुरस्कारमा वर्चस्व
विश्वविजेता स्पेनले अधिकांश व्यक्तिगत पुरस्कार आफ्नो नाममा पार्नं सफल भएको छ ।

गोल्डेन बल– रोड्री (स्पेन)
स्पेनका कप्तान तथा मिडफिल्डर रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भए। न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उनलाई पुरस्कार प्रदान गरेका थिए।

३० वर्षीय रोड्रीको करिअरको यो तेस्रो ठूलो व्यक्तिगत सम्मान हो। उनले यसअघि सन् २०२३ मा बालोन डी’ओर तथा युरो २०२४ मा प्रतियोगिताकै उत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए।

मेसीले सिल्भर बल तथा एम्बाप्पेले ब्रन्ज बल प्राप्त गरे।

गोल्डेन ग्लोभ – उनाइ सिमोन (स्पेन)
स्पेनका गोलकिपर उनाइ सिमोन प्रतियोगिताका उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभका हकदार बने।

उनले आठ खेलमा केवल एक गोल मात्र बेहोरे भने सात खेलमा क्लिनसिट राखे। क्वाटरफाइनलमा बेल्जियमका चार्ल्स डे केटेलारेले मात्र उनलाई गोल गर्न सकेका थिए।

२९ वर्षीय सिमोनले स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेको विश्वासलाई उत्कृष्ट प्रदर्शनमार्फत सार्थक बनाएका थिए।

उत्कृष्ट युवा खेलाडी – पाउ कुबार्सी (स्पेन)
स्पेनका १९ वर्षीय बार्सिलोना सेन्टर–ब्याक पाउ कुबार्सी प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी घोषित भए।

उनले स्पेनको रक्षापंक्तिको नेतृत्व गर्दै टोलीलाई प्रतियोगिताभर केवल एक गोल मात्र खान दिए।

अर्जेन्टिनाविरुद्धको फाइनलमा पनि स्पेनले विपक्षीलाई लक्ष्यतर्फ एउटा पनि प्रहार गर्न दिएन।

कुबार्सीले प्रतियोगिताभर स्पेनका लागि प्रत्येक मिनेट खेले र टोलीलाई सन् २०१० पछि दोस्रो विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

प्रतिक्रिया दिनुहोस्