बैंकका सिइओलाई गभर्नर बन्न रोक लगाउन नहुने बैंकर्स संघका अध्यक्ष कोइरालाको भनाइ

काठमाडौं, ३ असार । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइरालाले वाणिज्य बैंकका सिइओलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न पाउने बाटो बन्द गर्न नहुने बताएका छन्।

प्रतिनिधि सभाको अर्थसमितिको आइतबार बसेको बैठकमा राष्ट्र बैंक ऐन संशोधन मस्यौदामाथिको छलफलमा सहभागी हुँदै कोइरालाले यस्तो धारणा राखेका हुन्।

राष्ट्र बैंक ऐन संशोधन मस्यौदामा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकको गभर्नर बन्न पाउने व्यवस्था हटाउने प्रस्ताव गरिएको छ। गभर्नर तथा सञ्चालक नियुक्ति प्रक्रियालाई थप स्पष्ट र प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था प्रस्ताव गरिएको संशोधन मस्यौदामा उल्लेख छ।

कोइरालाले भने बैंकिङ क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरूलाई गभर्नर बन्नबाट रोक लगाउन नहुने तर्क गरे। उनले योग्य र अनुभवी व्यक्तिहरूका लागि अवसर खुला राख्नुपर्ने धारणा राखे।

उनले राष्ट्र बैंकको डेपुटी गभर्नरको संख्या बढाएर तीन पुर्‍याउनुपर्ने सुझाव पनि दिए। आवश्यकता परेको अवस्थामा राष्ट्र बैंक बाहिरका विज्ञलाई समेत जिम्मेवारी दिन सकिने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परेका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृतलाई सामान्य प्राविधिक त्रुटिमा भएको कारबाहीकै आधारमा वित्तीय संस्थामा नियुक्तिका लागि स्वतः अयोग्य ठहर गर्ने व्यवस्था गर्न नहुनेमा पनि उनले जोड दिए।

कोइरालाले नियमन प्रणालीलाई प्रभावकारी बनाउँदै अनुभवी र दक्ष जनशक्तिको उपयोग गर्ने वातावरण बनाउनुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्