नागरिक एपसँग जोडियो एनएमबी बैंक, अनलाइन बैंकिङ प्रक्रिया अझ सहज हुने

काठमाडौं, ३ असार । डिजिटल बैंकिङ सेवालाई थप सहज, छिटो र सुरक्षित बनाउने उद्देश्यले एनएमबी बैंकले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सहकार्य गरेको छ।

नयाँ सहकार्यसँगै अब एनएमबी बैंकका ग्राहकहरूले नागरिक एप मार्फत अनलाइन बैंकिङका विभिन्न फर्म सहज रूपमा भर्न सक्नेछन्। यसबाट व्यक्तिगत विवरण पटक–पटक हातैले टाइप गर्नुपर्ने झन्झट हट्ने, कागजी प्रक्रिया कम हुने तथा बैंकिङ सेवा अझ छिटो र प्रभावकारी हुने बैंकले जनाएको छ।

बैंकका अनुसार ग्राहकहरूको व्यक्तिगत तथा गोप्य जानकारीको सुरक्षालाई उच्च प्राथमिकता दिइएको छ। ग्राहकले आफ्नै नागरिक एपमार्फत स्पष्ट अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न सक्ने छैन। साथै, प्राप्त जानकारी मागिएको सेवाका लागि मात्र प्रयोग गरिने व्यवस्था गरिएको छ।

एनएमबी बैंकले यो सहकार्यलाई नेपालको विस्तार हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधारको उपयोग गर्दै नागरिकलाई सुरक्षित, सरल र झन्झटमुक्त बैंकिङ सेवा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।

यस पहलले डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्नुका साथै सेवाग्राहीको अनुभवलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्