डीडीसीको नयाँ नीति: साउन मसान्तभित्र सम्पर्क नगर्ने सहकारी र फार्मबाट दूध खरिद नहुने

काठमाडौं, ३ असार ।  दुग्ध विकास संस्थान (डीडीसी) ले आगामी आर्थिक वर्ष २०८३/८४ देखि दूध सङ्कलन प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन नयाँ नीति लागू गर्ने भएको छ। यसअन्तर्गत संस्थानसँग नियमित रूपमा दूध कारोबार गर्न चाहने दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूले २०८३ साल साउन मसान्तभित्र अनिवार्य रूपमा सम्पर्क गर्नुपर्ने भएको छ।

लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार नियमित कारोबार गर्न इच्छुक सहकारी तथा निजी फार्महरूले आफ्नो पायक पर्ने डीडीसी आयोजना, चिस्यान केन्द्र वा तोकिएको सम्पर्क कार्यालयमा साउन मसान्तभित्र सम्पर्क गरिसक्नुपर्नेछ।

संस्थानले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने सहकारी संस्था वा निजी फार्महरूबाट आगामी दिनमा दूध खरिद वा कारोबार गर्न आफू बाध्य नहुने स्पष्ट पारेको छ।

डीडीसीका अनुसार नयाँ व्यवस्थाले दूध सङ्कलन प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रविधिमा आधारित बनाउने, आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा संस्थान र उत्पादकबीचको समन्वयलाई थप मजबुत बनाउने लक्ष्य राखिएको छ।

डीडीसीले विगत ५७ वर्षदेखि देशभरका सहकारी संस्था, निजी फार्म तथा दुग्ध उत्पादक कृषकहरूबाट दूध सङ्कलन गर्दै आएको छ। संस्थानले सम्बन्धित सबै सहकारी संस्था र निजी फार्मलाई समयमै सम्पर्क गरी नियमित कारोबार सुनिश्चित गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्