भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालन, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

काठमाडौं, १ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेल्वे स्टेशनबाट देशकै पहिलो हाइड्रोजन रेलको उद्घाटन गरेका छन्। वातावरणमैत्री र दिगो यातायात प्रणालीतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको यो रेल जिन्द–सोनिपत रेलमार्गमा सञ्चालन हुनेछ।

उद्घाटनसँगै प्रधानमन्त्री मोदीले १२ हजार ४७० करोड भारतीय रुपैयाँभन्दा बढी लागतका राष्ट्रिय राजमार्ग आयोजनाको शिलान्यास गरेका छन्। साथै १५७ किलोमिटर लामो दिल्ली–अमृतसर–कटरा द्रुतमार्ग राष्ट्रलाई समर्पण गरेका छन्।

सरकारका अनुसार उक्त द्रुतमार्ग सञ्चालनमा आएपछि दिल्लीदेखि कटरासम्मको यात्रा समय १४ घण्टाबाट घटेर करिब ६ घण्टामा सीमित हुनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पछिल्लो १२ वर्षमा भारतीय रेल सेवामा व्यापक रूपान्तरण भएको दाबी गरे। उनले हरियाणाको जिन्द सुशासन र विकासको नमुना बनेको पनि उल्लेख गरे।

नयाँ हाइड्रोजन रेलले जिन्द–सोनिपतबीच करिब ९० किलोमिटर दूरी तय गर्नेछ। तीन हजार दुई सय अश्वशक्ति क्षमताको यो रेल विश्वकै शक्तिशाली हाइड्रोजन रेलमध्ये एक भएको दाबी गरिएको छ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णवले यसलाई भारतीय रेल सेवाको ऐतिहासिक उपलब्धि भएको बताए। उनका अनुसार रेल पूर्ण रूपमा वातावरणमैत्री रहेको र सञ्चालनका लागि डिजेल वा पेट्रोल आवश्यक नपर्नेछ।

प्रति घण्टा ११० किलोमिटर गतिमा सञ्चालन गर्न सकिने यो रेल स्वदेशी प्रविधिमा आधारित रहेको जनाइएको छ। रेलमा एकैपटक दुई हजार छ सय यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ।

हाइड्रोजन इन्धन कोष प्रविधिबाट सञ्चालन हुने भएकाले यस रेलबाट कार्बन उत्सर्जन नहुने बताइएको छ। भारतीय रेल प्रशासनले आगामी दिनमा अन्य रेलमार्गमा पनि यही प्रविधि विस्तार गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्