चितवनमा एक वर्षमा २२ गैँडाको मृत्यु, दुई करेन्ट लागेर मरे
काठमाडौं, १ साउन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका राष्ट्रिय वन क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा एकसिङ्गे गैँडाको मृत्यु भएको छ। तीमध्ये दुई वटा करेन्ट लागेर मरेका छन् भने अन्य गैँडाको मृत्यु प्राकृतिक कारणले भएको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडाको मृत्यु भएको हो।
उनका अनुसार माडी र नवलपरासी (सुस्तापूर्व) को लोकाहा खोला नजिक करेन्ट लागेर दुई गैँडाको मृत्यु भएको थियो। माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा करेन्ट लागेर गैँडा मरेका हुन्।
अन्य गैँडाको मृत्यु दलदलमा फस्ने, आपसमा जुध्ने, वृद्धावस्था तथा अन्य प्राकृतिक कारणले भएको निकुञ्जले जनाएको छ। केही घटनामा बाघको आक्रमणबाट गैँडाका बच्चाको मृत्यु भएको पनि सूचना अधिकारी थापामगरले जानकारी दिए।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा ३० वटा गैँडाको प्राकृतिक कारणले मृत्यु भएको थियो। तीमध्ये दुई वटा राष्ट्रिय वन क्षेत्रमा र बाँकी निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मरेका थिए।
सन् २०२१ मा गरिएको राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा वयस्क एकसिङ्गे गैँडा रहेका छन्। निकुञ्ज प्रशासनले गैँडा संरक्षणका लागि निगरानी, चोरी सिकारी नियन्त्रण र बासस्थान व्यवस्थापनलाई निरन्तर प्राथमिकता दिँदै आएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्