नेपाल लाइफले रच्यो नयाँ कीर्तिमान, प्रथम बीमा शुल्क आर्जन १३ अर्ब रुपैयाँ नाघ्यो
काठमाडौं, १ साउन । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५ वर्षको गौरवमय यात्राका क्रममा गत आर्थिक वर्षमा १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको छ।
कम्पनीका अनुसार जीवन बीमा क्षेत्रमा यो प्रथम बीमा शुल्क आर्जनको हालसम्मकै उच्च रकम हो। अघिल्लो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दै कीर्तिमान बनाएको कम्पनीले यस वर्ष उक्त उपलब्धिलाई थप उचाइमा पुर्याएको जनाएको छ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले कम्पनीको सफलतामा योगदान पुर्याउने सञ्चालक समिति, बीमित, बीमा अभिकर्ता, कर्मचारी, सेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गरे।
“२५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आएको कम्पनीले प्राप्त गरेको यो ऐतिहासिक उपलब्धिले नेपालको जीवन बीमा उद्योगमा नयाँ मानक स्थापित गरेको छ,” उनले भने।
नेपाल लाइफले आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार गर्ने, नवीन बीमा योजना ल्याउने, प्रभावकारी लगानी व्यवस्थापनलाई प्राथमिकता दिने तथा कर्मचारी र बीमा अभिकर्ताको क्षमता अभिवृद्धि गर्दै विश्वस्तरीय बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी कम्पनीमध्ये एक मानिन्छ र देशभर विस्तारित सेवा सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आएको छ।













प्रतिक्रिया दिनुहोस्