त्रिवि केन्द्रीय क्याम्पसमा विद्यार्थीका लागि मनोवैज्ञानिक परामर्श इकाइ स्थापना हुने
काठमाडौं, १ साउन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका विद्यार्थीलाई गुणस्तरीय मनोवैज्ञानिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र त्रिवि मनोविज्ञान केन्द्रीय विभागबीच सम्झौता भएको छ।
विद्यार्थीहरूमा बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा अन्य मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै परामर्श सेवा सञ्चालन गर्ने उद्देश्यले शुक्रबार दुई पक्षबीच समझदारी भएको हो।
स्ववियु सभापति दिपकराज जोशीका अनुसार सम्झौताअनुसार स्ववियु कार्यालय परिसरमा विद्यार्थीका लागि मनोपरामर्श इकाइ स्थापना गरिनेछ। उक्त इकाइमार्फत विद्यार्थीलाई आवश्यक मनोवैज्ञानिक परामर्श तथा सहयोग उपलब्ध गराइनेछ।
सम्झौतापत्रमा मनोविज्ञान केन्द्रीय विभागका विद्यार्थीहरूले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्न स्ववियु कार्यालय परिसरमा रहेको एउटा कोठा प्रयोग गरी परामर्श कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
स्ववियुले सबै विभागमा परामर्श कार्यक्रम सुरु भएको जानकारी गराउन समन्वयकारी भूमिका निर्वाह गर्नेछ। यस सेवामार्फत विद्यार्थीको मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्या पहिचान, समयमै परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरूको शैक्षिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्ववियुको नयाँ विद्यार्थीमैत्री भवन निर्माण भएपछि पनि परामर्श कार्यक्रमलाई निरन्तरता दिन विभागलाई आवश्यक कोठा उपलब्ध गराउँदै सहकार्य जारी राखिने सम्झौतामा उल्लेख छ।
सम्झौताअनुसार परामर्श कार्यक्रम सञ्चालनका क्रममा प्रयोग गरिएको कोठाको सरसफाइ र भौतिक सम्पत्तिको संरक्षण प्रयोगकर्ताको जिम्मेवारी हुनेछ। कोठा प्रयोगसम्बन्धी कुनै समस्या वा विवाद उत्पन्न भएमा दुवै पक्षबीच छलफलमार्फत समाधान गरिने सहमति भएको छ।
सम्झौतापत्रमा स्ववियुका तर्फबाट सभापति दिपकराज जोशी र त्रिवि मनोविज्ञान केन्द्रीय विभागका तर्फबाट विभागीय प्रमुख उपप्राध्यापक सन्जेश श्रेष्ठले हस्ताक्षर गरेका छन्।













प्रतिक्रिया दिनुहोस्