राष्ट्र बैंक सञ्चालक समितिको संरचना नबदल्न गभर्नर पौडेलको आग्रह

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले राष्ट्र बैंकको सञ्चालक समितिको वर्तमान संरचना र अर्थसचिवको भूमिकालाई यथावत राख्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलका क्रममा गभर्नर पौडेलले सञ्चालक समितिको संख्या, योग्यता र संरचना हालकै अवस्थामा उपयुक्त रहेको भन्दै अनावश्यक परिवर्तन नगर्न आग्रह गरेका हुन्।

“सञ्चालक समितिको संख्या र योग्यता ठीक छ। राम्रोसँग चलेको ठाउँमा चलाउन पर्दैन,” उनले भने।

गभर्नर पौडेलले सञ्चालक समितिमा सदस्य संख्या धेरै हुँदा निर्णय प्रक्रिया जटिल बन्न सक्ने भएकाले हालको संरचनाले काम गर्न सहज भएको बताए।

उनले राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले कार्यसम्पादनमा कुनै समस्या नआएको स्पष्ट पारे। “अर्थसचिवको भूमिका ठीक छ। कामकारबाही गर्न सजिलो भएको छ,” उनले भने।

यद्यपि, गभर्नर र डेपुटी गभर्नर नियुक्तिका लागि तोकिएको योग्यतासम्बन्धी व्यवस्थामा भने पुनर्विचार गर्नुपर्ने धारणा उनले राखे।

गभर्नर पौडेलले ऐनमा यस्तो योग्यता व्यवस्था गर्न नहुने बताए, जसले सीमित व्यक्ति मात्र नियुक्तिका लागि योग्य हुने अवस्था सिर्जना गरोस्। “गभर्नर र डेपुटी गभर्नरको योग्यता परिवर्तन गर्ने विषयमा विचार गर्नुपर्छ। एक–दुई जनालाई मात्र अनुकूल हुने गरी योग्यता तोक्नु हुँदैन,” उनले भने।

उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल सरकारका सचिव वा प्राध्यापकजस्ता पदमा रहेको अनुभवलाई पनि आवश्यक योग्यता मानेर ऐनले समेट्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्