सेयर बजारबारे फैलिएका अफवाहमा नलाग्न अर्थमन्त्रीको आग्रह

काठमाडौं, १ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारमा सम्पत्ति घटेको र अझै घट्ने भन्दै फैलाइएका अफवाहप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ।

नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा सामाजिक सञ्जालमार्फत जारी सन्देशमा सचिवालयले सरकारले बजारलाई अस्थिर बनाउने कुनै काम नगरेको स्पष्ट पारेको छ।

सचिवालयले सरकार बनेयता सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्तामा निराशा र आक्रोश देखिएकोप्रति सरकार जानकार रहेको उल्लेख गरेको छ। “सम्पत्तिको आकार घटेको अंकमा देखिनु र अझै घट्ने हल्ला फैलाइँदा लगानीकर्तामा आक्रोश पैदा हुनु स्वाभाविक हो,” सन्देशमा भनिएको छ।

सेयर बजार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै सचिवालयले अर्थतन्त्रका धेरै सूचक सुधारोन्मुख रहेको दाबी गरेको छ। बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घटेको, सरकारले कर नीतिमार्फत खर्च तथा लगानीलाई प्रोत्साहन गरेको र राजस्व विवादमा परेकालाई छुट सुविधा दिएको जनाएको छ।

सचिवालयले स्थिर सरकार, विज्ञ अर्थमन्त्री तथा नियामक निकायमा सक्षम र पारदर्शी नेतृत्व रहेकाले सेयर बजार सुधारका लागि योजनाबद्ध काम भइरहेको दाबी गरेको छ।

बजारमा विकृति सिर्जना गर्ने उद्देश्यले नियामक निकायलाई प्रभाव पार्ने प्रयास गर्नेहरू अनुसन्धानको दायरामा रहेको उल्लेख गर्दै सचिवालयले अहिले नकारात्मक भाष्य निर्माण गरी असामान्य अवस्था सिर्जना गर्न खोजिएको आरोप लगाएको छ।

सरकारले “कम बोल्ने तर धेरै काम गर्ने” नीति लिएको भन्दै सचिवालयले त्यसको फाइदा उठाउँदै केही समूहले परिस्थितिजन्य लाभ लिन भ्रामक सूचना फैलाइरहेको दाबी गरेको छ।

विशेषगरी कुनै व्यक्ति पक्राउ पर्न लागेको वा कसैमाथि अनुसन्धान भइरहेको जस्ता प्रायोजित हल्ला फैलाइएको सूचना आएको भन्दै सचिवालयले त्यस्ता सूचनामा विश्वास नगर्न आग्रह गरेको छ।

लगानीकर्तालाई सेयर बजारसम्बन्धी आधिकारिक जानकारीका लागि अनौपचारिक समूह, सामाजिक सञ्जाल वा अपुष्ट स्रोतमा निर्भर नहुन आग्रह गर्दै धितोपत्रको दोस्रो बजारमा लगानी गर्नुअघि पर्याप्त अध्ययन गर्न सुझाव दिएको छ। साथै आवश्यक परे सम्बन्धित सरकारी निकायबाट आधिकारिक सूचना लिन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्