शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने

काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि उपत्यकाको उत्तर– पूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–३, थानेडाँडाबाट शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मूलाबारीसम्म केबलकार चलाइने भएको छ ।

केबलकार चलाउन नगरपालिकाले जेठ २७ गते शिवपुरी इको टुरिजम एण्ड केबलकार लिमिटेडलाई अनुमति दिएको छ । ३.५ किमी लामो दूरीमा केबलकार चलाउन वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रिया अघि बढेको छ । वन तथा वातावरण मन्त्रालयले मूल्यांकन गरेपछि दुई वर्षमा केबलकार निर्माण सम्पन्न हुने जनाइएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल मण्डल पर्यटन नगरीले आईतवार आयोजना गरेको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले वातावरणीय क्षति भए पूर्ति हुने गरी केबलकार सञ्चालन हुनुपर्ने बताए । केबलकारले स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई पनि यहाँ आकर्षित गर्ने उनको भनाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले केबलकार निर्माणले धार्मिक पर्यटनसमेत प्रवद्र्धन हुने भएकाले अनुमति दिइएको जानकारी दिए । विश्वका हिन्दू एवं बौद्ध धर्मावलम्बीलाई शिवपुरीमा आकर्षित गर्न सकिने उनको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय शहीद तथा शान्ति स्मारकका अध्यक्ष सुदर्शन सिग्देल, पर्यटन नगरीका अध्यक्ष कृष्ण केसी, उपाध्यक्ष इन्द्र लामा, चन्द्रागिरी नगरपालिका वडा नं १ का अध्यक्ष राजन केसी, महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी प्रमुख श्यामकुमार राईलगायतले उपत्यकाको सुन्दर दृश्य देखिने शिवपुरीमा बन्ने केबलकारले स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्ने विचार राखेका थिए ।

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन आएलगत्तै निर्माण शुरु गर्ने लिमिटेडका अध्यक्षसमेत रहनुभएका पर्यटन नगरीका उपाध्यक्ष लामाले राससलाई जानकारी दिए । केबलकार निर्माण गर्न रु एक अर्ब ५० करोड लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासीलाई पनि केबलकारको शेयर वितरण गरिने लिमिटेडले जनाएको छ ।

यो केबलकार निर्माण भएपछि उपत्यकामा नयाँ संरचनाअनुसार स्थानीय तहको अनुमतिमा बनेको पहिलो केबलकार हुनेछ । केबलकारले गोकर्णेश्वर महादेव मन्दिर र शहीद तथा शान्ति स्मारकको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गर्ने विश्वास गरिएको छ । निकुञ्जमा रहने वन्यजन्तु एवं जडीबुटी र वनस्पतिको संरक्षमा केबलकारको सञ्चालनले असर नगर्ने जनाइएको छ । -रासस

 

प्रतिक्रिया दिनुहोस्