साउनमा वाणिज्य बैंकको ब्याजदर घट्यो, मुद्दती निक्षेपमा अधिकतम ४.१६ प्रतिशतसम्म पाइने
काठमाडौं, ३२ असार । साउन महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेको हो।
साउन महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.१६ प्रतिशतसम्म ब्याज दिने भएका छन्। असार महिनामा यस्तो औसत ब्याजदर ४.२५ प्रतिशत रहेको थियो।
असारको तुलनामा साउनमा ६ वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। एनएमबि बैंकले ०.२५ प्रतिशत विन्दु, सिटिजन्स बैंक इन्टरनेसनलले ०.१५ प्रतिशत विन्दु, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.१० प्रतिशत विन्दु र कुमारी बैंकले ०.०६ प्रतिशत विन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपतर्फ ०.७५ प्रतिशत विन्दु र ग्लोबल आइएमई बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन्।
साउनमा नबिल बैंक र प्रभु बैंकबाट व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ४.५५ प्रतिशतसम्म ब्याज पाइने भएको छ। यता कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ३.९५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
बैंकहरूले रेमिट्यान्स खातामा भने व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा एक प्रतिशत विन्दु बढी ब्याज दिने व्यवस्था गरेका छन्।
बैंक तथा वित्तीय संस्थामा कर्जा लगानीयोग्य रकम पर्याप्त रहेकाले पछिल्लो समय ब्याजदर घट्दै गएको हो। हाल बैंकहरूसँग करिब १३ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्न सक्ने रकम रहेको छ।
कर्जा माग अपेक्षाअनुसार बढ्न नसकेपछि बैंकहरूले केही रकम कम ब्याजदरमा नेपाल राष्ट्र बैंकमा राखिरहेका छन्। हाल बैंक तथा वित्तीय संस्थासँग ८२ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने ५९ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ।
मासिक रूपमा दुई खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा बैंकहरूमा निक्षेप थप बढिरहेको छ। निक्षेप बढे पनि कर्जा विस्तार सुस्त हुँदा बैंकहरूले ब्याजदर घटाउने क्रम जारी राखेका छन्।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदर :
| बैंक | असारको ब्याजदर % | साउनको ब्याजदर % |
| एनआईसी एसिया | ४ | ४ |
| माछापुच्छ्रे | ४.५ | ४.५ |
| ग्लोबल आईएमई | ४.५ | ४ |
| प्राइम कमर्सियल | ४ | ४ |
| हिमालयन | ४ | ४ |
| एनएमबी | ४.७५ | ४.५ |
| एभरेस्ट | ४.०५ | ४.०५ |
| सानिमा | ४.५ | ४.५ |
| राष्ट्रिय वाणिज्य | ४.७५ | ४.५ |
| नबिल | ४.५५ | ४.५५ |
| सिद्धार्थ | ४.०५ | ४.०५ |
| सिटिजन्स | ४.१ | ३.९५ |
| नेपाल | ४.२५ | ४.२५ |
| प्रभु | ४.५५ | ४.५५ |
| नेपाल एसबीआई | ४.१ | ४.१ |
| इन्भेस्टमेन्ट मेगा | ४.५ | ४.५ |
| कुमारी | ३.९१ | ३.८५ |
| कृषि विकास | ४.१५ | ४.१५ |
| स्टान्डर्ड चार्टड | ३.९५ | ३.८५ |
| लक्ष्मी सनराइज | ४ | ४ |
| औसत | ४.२५ | ४.१६ |













प्रतिक्रिया दिनुहोस्