शेयर धितो कर्जामा राष्ट्र बैंकको नयाँ व्यवस्था, सबल कम्पनीको शेयरमा १० प्रतिशत बढी ऋण पाइने

काठमाडौं, ३२ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन २०८२ संशोधन गर्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ। नयाँ व्यवस्थाअनुसार सबल सूचीकृत कम्पनीहरूको शेयर धितोमा बैंकहरूले हालको सीमाभन्दा थप १० प्रतिशत विन्दुसम्म कर्जा प्रवाह गर्न सक्ने भएका छन्।

संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुअघि सूचीकृत कम्पनीहरूको सबलता मूल्यांकन गर्ने छुट्टै ‘प्रोडक्ट पेपर’ तयार गर्नुपर्नेछ। उक्त मूल्यांकनका आधारमा उत्कृष्ट ठहरिएका कम्पनीहरूको शेयरमा थप कर्जा सुविधा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको हो।

राष्ट्र बैंकका अनुसार कम्पनीको सबलता मूल्यांकन गर्दा कम्तीमा चुक्ता पुँजीको आकार, धितोपत्र बजारमा सूचीकृत भएको अवधि, नाफा तथा लाभांश वितरणको इतिहास, क्रेडिट रेटिङ, नियामकीय व्यवस्था पालना गरेको अवस्था तथा नियमित रूपमा साधारणसभा सम्पन्न गरेको विवरणलाई आधार बनाउनुपर्नेछ।

यी मापदण्डका आधारमा उच्च अंक प्राप्त गर्ने कम्पनीहरूको शेयर धितोमा बैंकहरूले विद्यमान कर्जा–मूल्य अनुपात (लोन टु भ्यालु रेसियो) मा अधिकतम १० प्रतिशत विन्दुसम्म थप गरी कर्जा दिन सक्नेछन्।

उदाहरणका लागि, हाल कुनै कम्पनीको शेयर धितोमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुने व्यवस्था भए, सबलता मूल्यांकनमा उत्कृष्ट ठहरिएको कम्पनीको शेयरमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिनेछ।

राष्ट्र बैंकको यो व्यवस्थाले वित्तीय रूपमा सबल तथा सुशासित कम्पनीहरूलाई प्रोत्साहन गर्नुका साथै शेयर धितो कर्जालाई जोखिमका आधारमा व्यवस्थापन गर्ने नीति थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

639197961491565129

प्रतिक्रिया दिनुहोस्