विश्वकप सेमिफाइनलमा फ्रान्स स्तब्ध, स्पेन २–० ले विजयी हुँदै फाइनलमा

काठमाडौं, ३१ असार । विश्वकप २०२६ को उपाधिको प्रमुख दाबेदार मानिएको फ्रान्सको यात्रा सेमिफाइनलमै टुंगिएको छ। मंगलबार अमेरिकाको डलासमा भएको प्रतिस्पर्धामा स्पेनसँग २–० ले पराजित भएपछि फ्रान्सको विश्वकप सपना चकनाचुर भयो।

खेलपछि फ्रान्सेली खेलाडी रायन चर्कीले हारको जिम्मेवारी आफ्नै टोलीमाथि राख्दै भने, “हामी स्पेनसँगभन्दा पनि आफैंसँग हार्‍यौं। प्राविधिक, रणनीतिक र खेलको प्रत्येक पक्षमा हामी कमजोर भयौं। सबै टोली हामीसँग डराउँथे, तर अन्ततः हामी आफैंलाई जिताउन सकेनौं।”

प्रशिक्षक डिडियर डेस्च्याम्पले केलियन एम्बाप्पे, उस्मान डेम्बेले, ब्राडली बारकोला र माइकल ओलिसेलाई एकैसाथ मैदानमा उतार्दै आक्रामक रणनीति अपनाएका थिए। तर बल नियन्त्रणमा उत्कृष्ट स्पेनविरुद्ध यो योजना सफल हुन सकेन। तथ्यांकअनुसार सन् १९६६ यताकै विश्वकप इतिहासमा फ्रान्सले देखाएको यो सबैभन्दा कमजोर आक्रमणमध्ये एक रह्यो। खेलको ८१औं मिनेटसम्म फ्रान्सले स्पेनको गोलपोस्टतर्फ प्रभावकारी प्रहार गर्न सकेन।

विश्वकै उत्कृष्ट फरवार्ड लाइनमध्ये एक मानिएको फ्रान्सेली आक्रमण स्पेनको अनुशासित रक्षापंक्तिसामु निरीह बन्यो। कप्तान केलियन एम्बाप्पे अपेक्षाअनुसार प्रभाव जमाउन असफल भए भने माइकल ओलिसेलाई स्पेनका डिफेन्डरहरूले प्रभावहीन बनाए। त्यसैगरी, मुख्य डिफेन्डर विलियम सालिबा चोटका कारण खेलको ३०औं मिनेटमै मैदान छाड्न बाध्य हुनु फ्रान्सका लागि ठूलो झट्का बन्यो।

यता, स्पेनले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै आफू किन विश्व फुटबलको शीर्ष टोलीमध्ये एक हो भन्ने प्रमाणित गर्‍यो। कप्तान रोड्रीको नेतृत्व तथा फाबियन रुइज र ड्यानी ओल्मोको मिडफिल्ड समन्वयले फ्रान्सलाई खेलमा फर्कने कुनै अवसर दिएन। स्पेनले ५६ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राख्दै आक्रमण र रक्षामा समान रूपमा प्रभुत्व जमायो।

स्पेनले खेलको सुरुमै अग्रता लिएको थियो। लुकास डिग्नेले लामिन यमललाई फउल गरेपछि प्राप्त पेनाल्टीमा मिकेल ओयार्जाबालले गोल गर्दै टोलीलाई अघि बढाए। दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थपेपछि स्पेनको फाइनल यात्रा सुनिश्चित भयो। फ्रान्सले त्यसपछि खेलमा फर्कने कुनै लय समात्न सकेन।

यो हारसँगै डिडियर डेस्च्याम्पको १४ वर्ष लामो प्रशिक्षण यात्रा पनि अन्त्य हुने अपेक्षा गरिएको छ। अब फ्रान्सको नयाँ प्रशिक्षकका रूपमा जिनेदिन जिदान आउने सम्भावना बलियो देखिएको छ।

स्पेन अब आइतबार न्यू जर्सीको मेटलाइफ स्टेडियममा विश्वकप फाइनल खेल्नेछ। फ्रान्सले भने शनिबार मायामीमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्