ओ ह्युङ क्युको निर्णायक गोलमा दक्षिण कोरियाको विजयी सुरुआत

जेष्ठ, २९ काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

मेक्सिकोको ग्वाडालजारा रंगशालामा शुक्रबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियाका वैकल्पिक खेलाडी ओ ह्युङ क्यु नायक बने। खेलको ६९औँ मिनेटमा मैदान प्रवेश गरेका उनले ८०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।

पहिलो हाफभर खेलमा दबाब बनाएको दक्षिण कोरियाले गोल गर्न नसक्दा चेक गणतन्त्रले दोस्रो हाफमा अग्रता बनाएको थियो। खेलको ५९औँ मिनेटमा लाडिस्लाभ क्रेज्सीले कर्नरबाट आएको बललाई हेडमार्फत जाली चुमाउँदै टोलीलाई १–० को अग्रता दिलाएका थिए।

तर चेक टोलीको खुसी लामो समय टिक्न सकेन। खेलको ६७औँ मिनेटमा ह्वाङ इन बियोमले उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्दै बराबरी गोल फर्काए।

बराबरीपछि आक्रामक बनेको दक्षिण कोरियाले वैकल्पिक खेलाडी ओ ह्युङ क्युको गोलमार्फत खेल आफ्नो पक्षमा पार्न सफल भयो।

खेलभर दक्षिण कोरियाले १५ पटक गोलका लागि प्रहार गर्दा चेक गणतन्त्रले ८ पटक प्रयास गरेको थियो।

यस जितसँगै दक्षिण कोरियाले प्रतियोगितामा सुखद सुरुआत गरेको छ। दक्षिण कोरियाले आफ्नो दोस्रो खेल जुन १९ मा आयोजक मेक्सिकोसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्