काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द, सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड

काठमाडौं, ३० असार । असारको अन्तय हुँदै गर्दा अविरल वर्षाले देशभर बाढि तथा पहिरोको त्रास बढाको छ । पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड गरिएको छ । यसले यातायमत क्षेत्र प्रभावित भएको छ ।

नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको हो । वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको थियो । आज बिहान पनि गाडीहरु छाडिएको छैन ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सूचना अधिकारी तथा प्रहरी उपनिरिक्षक नरेशराज सुवेदीका अनुसार नागढुंगा-मुग्लिन(नारायणगढ आउजाउ गर्न सवारी साधनलाई रोक लगाइएको छ । चितवनका केराबारी र तुइनखोलामा पहिरो खसेकाले सवारी आवतजावत अवरुद्ध छ ।

यसैगरी बीपी राजमार्गको रोशी खोलामा बहाव बढेको र मंगलटारमा लेदोसहितको पहिरो गएकाले बीपी राजमार्ग हुँदै यात्रा गर्न पनि रोक लगाइएको छ ।

फर्पिङ-फाखेल-सिन्नेरी हुँदै हेटौंडा पुग्ने सडक पनि बन्द गरिएको छ । कान्तिपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो सडक पनि बन्द छ ।

हिजो रातभर परेको अविरल वर्षाले यात्रामा जोखिम बढेको भन्दै रात्रिकालीन सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । आज बिहान पनि दिवाकालीन सवारी साधन सञ्चालनमा रोक लगाइउको छ ।

जोखिम विश्लेषण गरी कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे निर्णय लिइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बेलुकादेखि नै पहिरोको जोखिम रहेको भन्दै अर्को सूचना जारी नहुन्जेलसम्म सवारीसाधनहरूलाई आवागमनमा रोक लगाएको छ । यसले यात्रुहरुलाई  गन्तव्यमा पुग्न कठिन भएको छ । कामकाज पनि प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्