घाँस–दाउरा बोक्ने हात बने काष्ठ उद्यमका कुशल शिल्पी
काठमाडौं, २८ असार । पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले सामान्य गृहिणीका रूपमा मात्र चिन्थ्यो। घरधन्दा, गाईवस्तुको स्याहार, घाँस–दाउरा र दैनिक पारिवारिक जिम्मेवारीमै सीमित उनको जीवन अहिले पूर्ण रूपमा बदलिएको छ। अहिले तिनै हातले काठमा आकर्षक बुट्टा कुँद्छन्, उद्यम सञ्चालन गर्छन् र अरूलाई सीप सिकाउँछन्।
सामान्यतया कामकाजी मानिसको कल्पना गर्दा कार्यालय, कम्प्युटर र नियमित तलब जोडिन्छ। तर विष्णुकुमारीको कार्यस्थल भने काठको धुलोले भरिएको कार्यशाला हो। बिहानको घरायसी काम सकेपछि उनी काठका मुडा, फल्याक र अन्य सामग्रीमा सिर्जनात्मक कला भर्न थाल्छिन्। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उनको अधिकांश समय काष्ठ हस्तकलामै बित्छ।
विदेशमा रोजगारी खोज्दै हजारौँ युवा बाहिरिइरहेको अवस्थामा महिलाले काठको काम गरेर आत्मनिर्भर बन्नु अझै धेरैका लागि नौलो विषय हो। तर विष्णुकुमारीका लागि यही श्रम सम्मान, आत्मविश्वास र पहिचानको आधार बनेको छ।
“रात बितेर बिहान कहिले हुन्छ र फेरि काममा फर्कन पाइन्छ भन्ने लागिरहन्छ,” उनी मुस्कुराउँदै भन्छिन्।
एक समय पिप्लेपोखरा सामुदायिक वन उनका लागि घाँस र दाउरा ल्याउने स्थान मात्र थियो। तर सामुदायिक वनले हरित रोजगारी र वनमा आधारित उद्यम विकासको अवधारणा अघि सारेपछि उनको जीवनमा नयाँ परिवर्तन आयो। घाँस–दाउरा बोक्ने हातले अहिले काठका आकर्षक सामग्री निर्माण गर्न थालेका छन्।
महिलाले पनि काठको काम गर्न सक्छन् भन्ने विश्वास सुरुमा उनलाई स्वयंलाई थिएन। तर सामुदायिक वनमार्फत महिलालाई उद्यमी बनाउने उद्देश्यले सञ्चालन गरिएको काष्ठ हस्तकलाको तालिममा सहभागी भएपछि उनको सोच बदलियो। तालिमपछि उनले यही सीपलाई व्यवसायका रूपमा अघि बढाउने निर्णय गरिन्।
हाल उनको नेतृत्वमा सञ्चालित ‘श्रमजीवी महिला काष्ठ हस्तकला लघुउद्यम’ले सामूहिक रूपमा विभिन्न काष्ठ सामग्री उत्पादन गर्दै आएको छ। समूहले वनमा खेर जाने काठलाई सदुपयोग गर्दै ढोकाका बुट्टा, फोटो फ्रेम, घण्टी फ्रेम, उपहार सामग्री, सजावटका सामग्री, फर्निचरका कलात्मक डिजाइन, बक्स र पलङका बुट्टालगायत सामग्री उत्पादन गर्दै आएको छ।
“हामी समूहमा काम गर्छौँ। एउटाको सीप अर्कोको बल बन्छ। त्यसैले उत्पादन र आम्दानी दुवै बढेको छ,” विष्णुकुमारी भन्छिन्।
अस्मिता नेपालले एपीएफ नेटको सहयोगमा उपलब्ध गराएको काष्ठ हस्तकला तालिमले उनीहरूलाई सीपसँगै उद्यम सञ्चालन गर्ने आत्मविश्वास दिएको थियो। त्यसपछि आवश्यक उपकरण र थप सीप विकासका अवसर पनि प्राप्त भए। पछिल्ला वर्षहरूमा ग्रिन फाउन्डेसन नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी गराउँदै बजार विस्तारमा सहयोग गरेको उनले बताइन्।
४३ वर्षीया विष्णुकुमारी अहिले प्रशिक्षकसमेत बनेकी छन्। विभिन्न सङ्घसंस्था र स्थानीय तहबाट उनलाई काष्ठ हस्तकलाको तालिम दिन निमन्त्रणा आउन थालेको छ। आफूले सिकेको सीप अरू महिलालाई सिकाउन पाउँदा अझ बढी खुसी लाग्ने उनको भनाइ छ।
“सुरुमा धेरैले मेरो कामको मजाक उडाए। महिलाले काठको काम गर्न सक्दैनन् भन्ने सोच थियो। आफ्नै परिवारलाई पनि विश्वास थिएन। तर अहिले त्यही मानिसहरूले मेरो कामको प्रशंसा गर्छन्,” उनी भन्छिन्।
उनका अनुसार इच्छाशक्ति, निरन्तर अभ्यास र अवसर पाए महिलाले जुनसुकै क्षेत्रमा सफलता हासिल गर्न सक्छन्। अहिले उनीहरूको उत्पादन काठमाडौंसहित देशका विभिन्न सहर, कोसेलीघर र विभिन्न सङ्घसंस्थामार्फत बिक्री हुने गरेको छ।
विष्णुकुमारीको सफलताको अर्को आधार पिप्लेपोखरा सामुदायिक वन पनि हो। सामुदायिक वनले आवश्यक कच्चा पदार्थ उपलब्ध गराउँदै आएको छ। वनले महिलालाई घाँस–दाउराका उपभोक्ताबाट हरित उद्यमी बनाउने अभियान सफल बनाएको उनको अनुभव छ।
हेटौँडा उपमहानगरपालिकाको सहयोगले उद्यम विस्तारमा थप सहज भएको उनले बताइन्। उपमहानगरपालिकाले स्थानीय स्रोत, सीप र सम्भावनामा आधारित लघुउद्यम विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उद्योग शाखाका अनुसार उपमहानगरपालिकाले हालसम्म आठ सयभन्दा बढी व्यक्तिलाई विभिन्न उद्यमशीलता तथा सीपमूलक तालिम प्रदान गरेको छ। तीमध्ये २६८ जना सक्रिय रूपमा उद्यम सञ्चालन गरिरहेका छन्। अधिकांश उद्यममा महिलाको उल्लेखनीय सहभागिता रहेको छ।
‘एक वडा, एक उद्यम’ अवधारणाअन्तर्गत हेटौँडा–१२ मा अग्र्यानिक गुन्द्रुक उत्पादन, वडा नं. ६ मा दालमोठ उद्योग, वडा नं. ८ मा वनजन्य कच्चा पदार्थमा आधारित धूप उद्योग, वडा नं. ५ मा काष्ठ हस्तकला तथा वडा नं. १८ मा बेसारखेती तथा प्रशोधन उद्योग सञ्चालनमा छन्।
उपमहानगरपालिकाले सीप विकाससँगै उद्योग दर्ता, ब्रान्डिङ, प्याकेजिङ, खाद्य अनुज्ञापत्र, प्रदर्शनी सहभागिता र बजार विस्तारमा समेत सहजीकरण गर्दै आएको छ। यसले स्थानीय महिलालाई उत्पादनमुखी उद्यमतर्फ आकर्षित गरेको छ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले अघि सारेको महिला उद्यम विकासको प्रतिबद्धता अहिले व्यवहारमा देखिन थालेको स्थानीयको भनाइ छ। स्थानीय स्रोतलाई बजारसँग जोड्ने नीति, सीप विकास र बजार पहुँचको संयोजनले हेटौँडाका महिलालाई आत्मनिर्भर उद्यमी बनाउँदै लगेको छ।
विष्णुकुमारी राई यही परिवर्तनको उदाहरण हुन्। एक समय घाँस–दाउरा बोकेर घर फर्किने उनी अहिले आफ्नै सीपले उद्यम सञ्चालन गर्ने, अन्य महिलालाई रोजगारी दिने र नयाँ पुस्तालाई सीप सिकाउने स्थानमा पुगेकी छन्। उनको यात्रा अवसर, सीप र आत्मविश्वासले जीवन बदल्न सक्ने प्रेरणादायी उदाहरण बनेको छ।













प्रतिक्रिया दिनुहोस्