कीर्तीपुरको सुकुम्बासी होलडिङ्ग सेन्टर बाढीले जलमग्न
काठमाडौं, २७ असार । कीर्तीपुरको सुकुम्बासी होलडिङ्ग सेन्टरमा बाढीले जलमग्न भएको छ । बाढीले गर्दा त्यो क्षेत्र अहिले लेदो र हिलाम्मेमा परिणत भएको छ । जताततै हिलो र गन्ध फैलिएको छ । त्रासमै सुकुमवासी छन् ।
थापाथली, गैरीगाउँ लगायतका सुकुमवासीबाट जेनतेन जोगाएर ल्याएका सामान फेरी नष्ट भएका छन् । त्यसमै पनि केही अझै जोगाउन सकिन्छ कि भनेर उनीहरू प्रयासरत देखिन्छन् ।
हिलोमा पुरिएका, भिजेका आफ्ना सरसामानहरू खोतलेर निकाल्ने प्रयास गरिरहेका छन् । कोही भने आफ्ना सबै पुरेका सरसामान हेर्दै टोलाएर बसिरहेका छन् । होल्डिङ सेन्टर डुबेसँगै उनीहरू थप अन्योल र चिन्तामा छन् ।
पहिले राज्यको डोजर र अहिले प्राकृतिक विपत्तिको दोहोरो मारमा परेको भन्दै कतिपय सुकुमवासी आक्रोशित पनि सुनिन्छन् । सरकारले आफूहरूमाथि अपराध गरिरहेको बताउँछन् ।
कीर्तिपुरकै होल्डिङ सेन्टरमा एक बजेतिर पालभित्र पानी पस्न थालेपछि अलिबेर त अन्योल र तनाव नै भयो । तर, केहीबेर पछि ‘केही भाइहरूले डुङ्गा ल्याएर केही सामान बाहिर निकाल्न सकेको छ ।
तर पनि चिउरा, चामल, बिस्कुट र लुगाफाटा सबै पानीभित्रै नष्ट भएका छन् । यतिसम्म कि, भोलिपल्ट बिहान केटाकेटीलाई खुवाउन भनेर जोगाएर राखेको अलिकति भात र तरकारी पनि सुकुलसँगै डुबेको देख्दा उनको मन पोलेको छ ।
‘पहिला हामी जहाँ बसेका थियौं, बरु ठिक थियो । तयारीबिना यसरी किन यहाँ ल्यायो । हामीलाई त मारेसरह भइसक्यो,‘ मेनुकाले भनिन्, ‘त्यहाँ बाढीबाट जोगाउन भनेर यहाँ ल्याएको होइन ? खोइ यस्तो बिजोग झेल्नुपरेको छ त ?
प्रशासनले आफूहरूलाई साविकको बस्तीबाट हटाउँदा प्रहरी र आर्मी लगाएर जबरजस्ती उठाएको, बन्दुक र गोलीगट्ठा देखाएर भत्केको ठाउँ हेर्नसमेत नदिएको मेनुकाको अनुभव छ । डरैडरले गर्दा आफ्नो दुईचार पैसा आउँछ कि भनेर कबाडीलाई बेच्न ठिक्क पारेको सामान समेत उठाउन पाइनन् । अहिले फेरि भएका केही सामान पनि नष्ट भएर बिजोग बनाइदिएको सरकारसँग उनको आक्रोश छ ।
आफूहरू पनि यही देशको नागरिक भएको र नागरिकता, राष्ट्रिय परिचयपत्र सबै सरकारी नै भएको उल्लेख गर्दै उनी प्रश्न गर्छिन्, ‘हामीले एउटा मान्छे मार्यौँ भने सरकारी कानुन लाग्छ, तर आज हामीलाई यसरी दिनदिनै मारिरहेको छ । यो सरकारलाई के हुन्छ ?’
आफूमात्र होइन, आफूपछिको छोरा, नाति र सिंगो परिवारको बिजोग भयो भन्दै मेनुका भक्कानिन्छिन् । बाँचुन्जेल देश र जनताका लागि राम्रो काम गरेर इतिहासमा नाम कमाउन र गरिबलाई रुवाएर, आँसु र रगतमा डुबाएर नहिँड्न उनी सरकारलाई बिन्ती गर्छिन् ।
हिलाम्मे होल्डिङ सेन्टरको कुनामा टोलाएर बसेकी उनले सरकारसँग सुरक्षित स्थानमा उचित व्यवस्थापन मागेकी छन् । ‘हामीलाई जस्तो व्यवस्थापन गर्छु भनेर ल्याएको थियो, त्यो गर्नुपर्यो । केही गर्न नसक्ने भए किन त्यहाँबाट उठाएको रु,‘ मेनुकाको प्रश्न छ ।
त्यस्तै, सुकुमवासी गीता लामा पनि तनावमा छिन् । राति पानी पस्दा उनी मस्त निद्रामै थिइन् । जब बिउँझिइन्, सबै बर्बाद भइसकेको थियो । पछि पुलिसहरू आएर उद्धारमा साथ त दिए, तर सरसामान केही पनि निकाल्न पाइनन् ।
बाढीबाट जोगिन साविकको बस्ती भत्काएर यहाँ ल्याइएका उनी पनि अन्ततः त्यही बाढीको चपेटामा परिन् । अहिले सामान कता छ, मान्छे कताकता छन् – केही अत्तोपत्तो छैन । ओढ्ने र ओछाउने कपडा, जाँतो, चुलो र खाने भाँडाहरू सबै हिलो र पानीले नष्ट बनाइदिएको छ ।
यसरी किन तड्पाइ तड्पाइ सताइरहेको हो थाहा छैन’, विरक्त हुँदै उनले भने, ‘यदि केही तयारी थिएन भने किन यसरी बस्ती भत्काएर बिचल्ली बनाएको रु अब त हुँदाहुँदा २५ हजार लिएर तिमीहरु जाओ भन्छ । पछि व्यवस्थापन गरिदिने रे भन्छ । यस्तो अवस्थामा हामी कहाँ जाऔँ रु हामीलाई कसले पत्याउँछ रु’कीर्तिपुरको होल्डिङ सेन्टरमा अहिले नेपाल प्रहरीको बाक्लो उपस्थिति रहेको छ। राति होल्डिङ सेन्टरमा बाढी पसेपछि अहिले सामान व्यवस्थापनको काम भइरहेको छ ।
त्यसका लागि जनपद र सशस्त्र प्रहरीका जवानहरू पनि खटिएका छन् । सुकुमबासीहरूलाई भक्तपुरको खरिपाटीमा लैजाने भनिए पनि टुङ्गो लागेको छैन । उनीहरूलाई अहिले होल्डिङ सेन्टर नजिकै कीर्तिपुरको स्मृति भवनमा लगिएको छ । यसले सरकारको आलोचना भईरहको छ ।













प्रतिक्रिया दिनुहोस्