नेपालमा लगानी विस्तार गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह
काठमाडौं, २६ असार । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्। उनले नेपालमा लगानीका लागि अहिले उपयुक्त समय रहेको बताएका छन्।
युएईका विदेश व्यापार मन्त्री डा. थानी अहमद अल जेयौदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रागिरिमा आयोजित रात्रिभोज कार्यक्रममा बोल्दै ढकालले नेपाल–युएई सम्बन्धलाई श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार, लगानी, नवप्रवर्तन, उद्यमशीलता र संयुक्त लगानीमा केन्द्रित गर्नुपर्ने बताए।
उनले पछिल्लो पाँच दशकमा युएईले व्यापार, लगानी, वित्त, पर्यटन, प्रविधि तथा नवप्रवर्तनका क्षेत्रमा हासिल गरेको प्रगति दूरदर्शी नेतृत्व, खुला आर्थिक नीति र लगानीमैत्री वातावरणको परिणाम भएको उल्लेख गर्दै नेपालले त्यसबाट धेरै कुरा सिक्न सक्ने बताए।
सन् २०२७ मा नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने उल्लेख गर्दै ढकालले उक्त अवसरलाई दुई देशबीचको आर्थिक साझेदारी थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
उनका अनुसार नेपाल र युएईबीच द्विपक्षीय लगानी सम्झौता (बिआइए), दोहोरो कर मुक्ति सम्झौता (डिटिएए) तथा व्यापक आर्थिक साझेदारी सम्झौता (सिइपिए) सम्बन्धी छलफल सकारात्मक रूपमा अघि बढिरहेको छ। यी सम्झौताले लगानीकर्ताको विश्वास बढाउनुका साथै नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने उनले बताए।
ढकालले नेपालमा जलविद्युत्, पर्यटन, डिजिटल भुक्तानी, वित्तीय प्रविधि, सहरी पूर्वाधार, कृषि, उत्पादनमूलक उद्योग तथा आपूर्ति शृंखलासम्बन्धी सेवाका क्षेत्रमा ठूलो लगानी सम्भावना रहेको बताए। युएईको प्रविधि, अनुभव र लगानी क्षमताले नेपालको विकास प्राथमिकतासँग राम्रो तालमेल राख्ने उनको भनाइ थियो।
“नेपालसँग अपार सम्भावना छ भने युएईसँग विश्वस्तरीय अनुभव, प्रविधि र लगानी क्षमता छ। दुई देशबीचको सहकार्यबाट पर्यटन, जलविद्युत्, पूर्वाधार, उत्पादनमूलक उद्योगलगायत क्षेत्रमा विश्वस्तरीय परियोजना विकास गर्न सकिन्छ,” ढकालले भने।
उनले संयुक्त लगानीमार्फत रोजगारी सिर्जना, आर्थिक गतिविधि विस्तार र दुवै देशको साझा समृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे।
आइएमई ग्रुपले बैंकिङ, विप्रेषण तथा डिजिटल भुक्तानी सेवामार्फत युएईका विभिन्न वित्तीय संस्थासँग लामो समयदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै ढकालले आगामी दिनमा पर्यटन पूर्वाधार, केबलकार, स्तरीय पर्यटकीय पूर्वाधार, जलविद्युत् तथा एकीकृत मनोरञ्जन पूर्वाधारमा समेत संयुक्त लगानी विस्तार गर्न सकिने बताए।
एफएनसिसिआईको अध्यक्ष रहँदा दुबईमा कोप–२८ को अवसरमा नेपाल–युएई व्यापार सम्मेलन आयोजना गरेको तथा विश्व सरकार सम्मेलनमा दुई पटक सहभागी भएको स्मरण गर्दै ढकालले युएईले नेपाललाई सम्भावनायुक्त लगानी गन्तव्यका रूपमा हेरेको बताए।
“नेपाल तयार छ। अहिले नेपालमा लगानी गर्ने उपयुक्त समय हो,” उनले भने।
ढकालले दुवै देशका निजी क्षेत्रबीच लगानी, नवप्रवर्तन र उद्यमशीलतामार्फत आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन आह्वान गरे।













प्रतिक्रिया दिनुहोस्