ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार : प्रधानमन्त्री वालेन्द्र शाह
काठमाडौं, २६ असार । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण तथा हरित विकासको प्रमुख आधार भएको बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री शाहले ऊर्जा क्षेत्रले नेपालको निर्यात व्यापार प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे।
उनले ऊर्जा उत्पादन तथा प्रवर्द्धनका क्रममा देखिएका समस्या, अवसर र चुनौतीबारे इपानले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक सहजीकरण तथा समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा जलविद्युत् विकास, ऊर्जा क्षेत्रमा निजी लगानी, उद्योग–व्यवसाय प्रवर्द्धन तथा ऊर्जा क्षेत्रमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो।
इपानले विद्युत् खरिद सम्झौता (पीपीए) सहजीकरण, रोकिएका आयोजना अघि बढाउने, प्रसारण लाइन तथा ग्रिड पहुँच विस्तार, वन–वातावरण र जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया सरल बनाउने, अनुमतिपत्र नवीकरण सहज बनाउने तथा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने विषय उठाएको थियो।
भेटका क्रममा लगानी सुरक्षा तथा ऊर्जा क्षेत्रलाई थप लगानीमैत्री बनाउने विषयमा पनि छलफल भएको थियो।
छलफलमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, स्वकीय सचिव नविन भण्डारी तथा इपानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन, उपाध्यक्षहरू हिमप्रसाद पाठक, सुशन कर्माचार्य र उत्तरकुमार श्रेष्ठ, प्रमुख सल्लाहकार गणेश कार्की, महासचिव टीएन आचार्यलगायत सहभागी थिए।













प्रतिक्रिया दिनुहोस्