अन्तिम दिन मात्रै ३३ अर्बभन्दा बढी सरकारी भुक्तानी, पुँजीगत खर्चमा १८ अर्ब निकासा
काठमाडौं, २६ असार । आर्थिक वर्ष २०८२/८३ को नियमित बजेट भुक्तानीको अन्तिम दिन सरकारले एकै दिन ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारी भुक्तानी प्रणाली बन्द हुनुअघि बिहीबार मध्यरातिसम्म उक्त रकम निकासा गरिएको हो। यससँगै चालु आर्थिक वर्षका लागि नियमित बजेट भुक्तानी प्रक्रिया औपचारिक रूपमा बन्द भएको छ।
एकै दिन भएको कुल भुक्तानीमध्ये चालु खर्चतर्फ १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ अर्ब ३५ करोड ४२ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। बिहीबारसम्म कुल १५ खर्ब ६५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ७९ दशमलव ६९ प्रतिशत हो।
पुँजीगत खर्चतर्फ चार खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएकामा आर्थिक वर्षको अन्त्यसम्म एक खर्ब ८१ अर्ब ५६ करोड रुपैयाँ मात्रै खर्च भएको छ। यो कुल पुँजीगत विनियोजनको ४४ दशमलव ५१ प्रतिशत हो। यसमध्ये अन्तिम दिन मात्रै १८ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी भएको छ।
यस्तै, चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएकामा १० खर्ब ४२ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ८८ दशमलव ३० प्रतिशत बराबर हो।













प्रतिक्रिया दिनुहोस्