चार महिनापछि मशहदमा दफन गरिए स्वर्गीय अली खामेनी

काठमाडौं, २६ असार । इरानका स्वर्गीय सर्वोच्च नेता अली खामेनीलाई मृत्यु भएको चार महिनाभन्दा बढी समयपछि देशकै सबैभन्दा पवित्र शिया तीर्थस्थल मशहदस्थित इमाम रेजा दरगाहमा दफन गरिएको छ।

सरकारी सञ्चारमाध्यमका अनुसार शुक्रबार बिहान निजी रूपमा दफन प्रक्रिया सम्पन्न गरिएको हो। दफनअघि एक सातासम्म तेहरान, कोम, नजफ र कर्बलालगायत स्थानमा सार्वजनिक श्रद्धाञ्जली तथा शवयात्रा आयोजना गरिएको थियो। ती कार्यक्रममा लाखौँ मानिस सहभागी भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

सुरुमा अन्त्येष्टि मार्चमै गर्ने योजना भए पनि युद्धका कारण स्थगित गरिएको थियो। अन्तिम शवयात्राका क्रममा भीड अत्यधिक बढेपछि खामेनीको कफिन हेलिकोप्टरमार्फत इमाम रेजा दरगाह पुर्‍याइएको थियो। उनले जीवनकालमै त्यहीँ दफन हुन चाहेको बताइएको छ।

शवयात्रामा सहभागीहरूले इरानी राष्ट्रिय झण्डा, खामेनीका तस्बिर तथा क्रान्तिकारी नारा लेखिएका प्लेकार्ड बोकेका थिए। उनीहरूले संयुक्त राज्य अमेरिकाविरुद्ध नाराबाजी गर्दै प्रतिशोधको मागसमेत गरेका थिए।

खामेनीसँगै हवाई आक्रमणमा ज्यान गुमाएका उनका परिवारका चार सदस्यको कफिन पनि अन्तिम यात्रामा सँगै राखिएको थियो।

यसैबीच, खामेनीको दफन हुनुअघि इरानको बुशेहर प्रान्त आसपासका क्षेत्रमा विस्फोटको आवाज सुनिएको समाचार सार्वजनिक भएको छ। यद्यपि अमेरिकी सेनाले पछिल्लो समय इरानमा कुनै नयाँ आक्रमण नगरेको जनाएको छ।

जुन महिनामा युद्ध रोक्ने प्रारम्भिक सहमति भए पनि इरान र अमेरिकाबीचको तनाव पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। पछिल्ला दिनमा दुवै पक्षबीच छिटफुट आक्रमण र प्रत्याक्रमण जारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्