स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६ का लागि ब्रिटिश कलेज र क्यान महासंघबीच साझेदारी

काठमाडौं। , २५ असार । नेपालमा स्टार्टअप तथा डिजिटल उद्यमशीलताको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच रणनीतिक साझेदारी सम्झौता भएको छ।

सम्झौताअनुसार क्यान महासंघ ‘स्टार्टअप वर्ल्ड कप नेपाल च्याप्टर २०२६’ को रणनीतिक आयोजना साझेदारका रूपमा रहनेछ। यस सहकार्यले नेपालका नवप्रवर्तनकारी युवा उद्यमीलाई विश्वव्यापी मञ्चसँग जोड्न तथा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्झौता पत्रमा द कँडेल ग्रुप तथा द ब्रिटिश कलेजका ग्रुप प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन कँडेल र क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा वन कभर प्रालिका संस्थापक एवं सीईओ चिरञ्जीवी अधिकारीले हस्ताक्षर गरेका छन्।

सम्झौताका क्रममा यो पहल केवल एउटा प्रतिस्पर्धामा सीमित नभई नेपालभर रहेका नवीन सोच र प्रविधिमा आधारित उद्यमलाई पहिचान गरी व्यावसायिक रूपमा स्थापित गर्ने अभियान भएको बताइएको छ।

साझेदारीअन्तर्गत नेपालको उद्यमशीलतालाई काठमाडौं उपत्यकामा मात्र सीमित नराखी देशभर विस्तार गर्ने योजना अघि सारिएको छ। विभिन्न प्रदेशमा स्थानीय स्तरका स्टार्टअप पहिचान गर्न विशेष प्रतियोगिता सञ्चालन गरिने जनाइएको छ।

कार्यक्रममार्फत नेपाली उद्यमीलाई उद्योगका अनुभवी नेतृत्वकर्ता, सफल व्यवसायी तथा प्राविधिक विज्ञसँग जोडिने अवसर प्रदान गरिनेछ। साथै, नवप्रवर्तनकारी अवधारणालाई स्वदेशी तथा विदेशी लगानीकर्तासँग जोड्न सहजीकरण गरिने बताइएको छ।

डिजिटल रूपान्तरण र प्राविधिक नवप्रवर्तन तीव्र रूपमा अघि बढिरहेको अवस्थामा यस्तो साझेदारीले नेपालमा प्रविधिमा आधारित व्यवसाय र स्टार्टअप संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्