पुँजी बजार सुधारको मार्गचित्र एक साताभित्र ल्याउने धितोपत्र बोर्डको घोषणा

काठमाडौं। , २५ असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखिएका समस्या र लगानीकर्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्न समयबद्ध कार्ययोजनासहितको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने घोषणा गरेको छ।

बोर्डले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत आगामी साताभित्र मार्गचित्र सार्वजनिक गरी तत्काल कार्यान्वयनमा लैजाने जनाएको हो।

बोर्डले बजार सुधार, लगानीकर्ताको हित संरक्षण र नियामकीय व्यवस्था प्रभावकारी बनाउन आवश्यक गृहकार्य भइरहेको उल्लेख गरेको छ। धितोपत्र बजारमा देखिएका समस्या समाधानका लागि विस्तृत योजना तयार पारिने विज्ञप्तिमा जनाइएको छ।

बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बन्धित संस्थाहरूलाई यसअघि दिइएका निर्देशन तोकिएको समयभित्र कार्यान्वयन गर्न पनि आग्रह गरेको छ। विशेषगरी मार्जिन कारोबारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न दिइएका निर्देशन कार्यान्वयनमा जोड दिइएको छ।

त्यस्तै, सार्वजनिक निष्कासन प्रक्रिया, नियमन प्रणाली तथा समग्र पुँजी बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन प्रक्रिया सुरु गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, सूचीकृत संगठित संस्थाको संस्थागत सुशासनसम्बन्धी निर्देशिका लगायतका कानुनी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्ने तयारी भइरहेको छ।

बजार सुधारका लागि कानुनी तथा नीतिगत दुवै क्षेत्रमा काम अघि बढिरहेको भन्दै बोर्डले लगानीकर्तालाई अफवाह र बहकाउमा नपर्न आग्रह गरेको छ।

बोर्डले लगानीसम्बन्धी निर्णय गर्दा आफ्नै अध्ययन, विश्लेषण र जोखिम वहन क्षमतालाई आधार बनाउन लगानीकर्तालाई सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्