टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट पक्राउ

काठमाडौं। , २५ असार । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा करार सेवामा कार्यरत फिजियोथेरापिस्ट अनिल तिवारी पक्राउ परेका छन्।

तिवारीले अस्पतालभित्रै ल्याब इन्चार्ज उमेश बजगाईंमाथि कुटपिट गरेको दृश्य सिसीटिभीमा कैद भएको थियो। उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो।

कुटपिटपछि बजगाईंले आफूलाई कारबाहीको माग गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईसमक्ष निवेदन दिएका थिए। सोही निवेदनका आधारमा अस्पतालले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले तिवारीलाई पक्राउ गरेको हो।

प्रारम्भिक जानकारीअनुसार अस्पतालले केही दिनअघि ल्याबका सामग्री खरिद गरेको विषयलाई लिएर तिवारीले ल्याब इन्चार्जसहित केही कर्मचारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै मेडिकल सुपरिटेन्डेन्टसमक्ष उजुरी दिएका थिए।

सोही विषयमा सोमबार तिवारीको कार्यकक्षमा छलफल भइरहेका बेला उनले बजगाईं र मेडिकल सुपरिटेन्डेन्टमाथि अपमानजनक शब्द प्रयोग गरेको स्रोतको दाबी छ। त्यसपछि आफ्नो कार्यकक्षतर्फ गएका बजगाईंमाथि तिवारीले पछ्याएर कुटपिट गरेको बताइएको छ।

बजगाईंले बिना कारण गालीगलौज र दुर्व्यवहार गरेपछि आफू त्यहाँबाट निस्किएको र पछि कार्यकक्षमै आएर तिवारीले कुटपिट गरेको बताएका छन्।

घटनाको छानबिनका लागि टीकापुर प्रादेशिक अस्पताल व्यवस्थापन समितिले छुट्टै छानबिन समिति गठन गरेको छ। प्रहरीले तिवारीलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्