एडिबीको प्रक्षेपण : सन् २०२६ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत मात्रै
काठमाडौं। , २५ असार । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ।
एडिबीले सार्वजनिक गरेको नयाँ आर्थिक प्रतिवेदनअनुसार सन् २०२५ मा नेपालको आर्थिक वृद्धि ४.४ प्रतिशत भएको अनुमान गरिएको छ भने सन् २०२७ मा यो वृद्धि ४.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।
सरकारले भने आगामी आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। चालु आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य लिइएको भए पनि संशोधित अनुमानअनुसार आर्थिक वृद्धि ३.८५ प्रतिशतमा सीमित हुने देखिएको छ।
एडिबीका अनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापारिक तनाव, मूल्यवृद्धि तथा आपूर्ति शृंखलामा कायम अवरोधका कारण सन् २०२६ मा एसिया तथा प्रशान्त क्षेत्रको आर्थिक वृद्धि सुस्त रहनेछ।
दक्षिण एसियामा भने भारत सबैभन्दा उच्च आर्थिक वृद्धि हासिल गर्ने देश रहने प्रक्षेपण गरिएको छ। एडिबीका अनुसार सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६.६ प्रतिशत रहनेछ। त्यसपछि भुटानको ६.५ प्रतिशत, श्रीलंकाको ४ प्रतिशत तथा बंगलादेश र पाकिस्तानको समान ३.७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।
प्रतिवेदनअनुसार अफगानिस्तानको आर्थिक वृद्धि २.३ प्रतिशत र माल्दिभ्सको १ प्रतिशत रहने प्रक्षेपण छ। समग्र दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२६ मा ६ प्रतिशत रहने एडिबीको अनुमान छ।
यसैबीच, एडिबीले सन् २०२६ मा चीनको आर्थिक वृद्धि ४.६ प्रतिशत रहने प्रक्षेपण पनि सार्वजनिक गरेको छ।













प्रतिक्रिया दिनुहोस्