नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका प्रतीक थापा अख्तियार पठाइए

काठमाडौंं, २४ असार ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा सफाइ पाएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।

पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा रहेका थापाले अदालतबाट सफाइ पाए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उपस्थित गराउन आग्रह गरेपछि उनलाई अख्तियार पठाइएको हो।

सुन्धारा कारागारका प्रशासक कृष्ण चापागाईंका अनुसार सफाइ पाएपछि थापा अब कारागारमा रहने अवस्था नभए पनि सम्बन्धित निकायको आग्रहअनुसार उनलाई अख्तियार पठाइएको हो।

“सफाइ पाएपछि अब उहाँ हाम्रोमा रहनुहुन्न। अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले उपस्थित गराइदिन भनेकाले त्यहाँ पठाएका छौं। अब छुट्दा त्यतैबाट छुट्नु हुन्छ,” चापागाईंले बताए।

थापामाथि नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित विषयमा अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गरिरहेको छ। अदालतबाट सफाइ पाए पनि अन्य निकायमा चलिरहेका अनुसन्धान प्रक्रियाका कारण उनलाई सम्बन्धित निकायमा उपस्थित गराइएको हो।

प्रतिक्रिया दिनुहोस्