मौद्रिक नीतिको सफलता कार्यान्वयनमा निर्भर हुन्छ: राजेन्द्र मल्ल
काठमाडौंं, २४ असार । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्रभावकारिता कार्यान्वयन पक्षमा निर्भर रहने बताएका छन्।
मौद्रिक नीति समग्रमा सकारात्मक रहेको उल्लेख गर्दै मल्लले आर्थिक गतिविधि चलायमान बनाउन नीतिको कार्यान्वयन थप प्रभावकारी हुनुपर्ने बताए।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमाथि प्रतिक्रिया दिँदै मल्लले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने र वित्तीय प्रणालीलाई थप सुदृढ बनाउने व्यवस्थालाई स्वागतयोग्य भनेका छन्।
उनका अनुसार निजी क्षेत्रले अपेक्षा गरेअनुसार व्यवसाय सञ्चालन लागत घटाउने, कर्जाको ब्याजदर तथा वित्तीय लागत कम गर्ने र उत्पादनमूलक क्षेत्रमा सहज तथा प्रभावकारी कर्जा प्रवाह सुनिश्चित गर्ने विषयमा अझ ठोस कदम आवश्यक छ।
मल्लले स्टार्टअप तथा नवप्रवर्तनशील व्यवसायका लागि सहुलियतपूर्ण कर्जा कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिए। उनले एकीकृत ग्राहक पहिचान (केवाइसी) प्रणाली प्रभावकारी रूपमा लागू गरी बैंकिङ प्रक्रियालाई सरल, छरितो र डिजिटल बनाउनुपर्ने बताए।
वित्तीय क्षेत्रमा डिजिटल प्रविधिको प्रभावकारी प्रयोग गर्न सके अनावश्यक कागजी प्रक्रिया र ढिलाइ हटाउन सकिने उनको भनाइ छ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्लले मौद्रिक नीतिको वास्तविक सफलता यसको प्रभावकारी कार्यान्वयनबाट मात्र सम्भव हुने बताए।
उनले अर्थतन्त्रलाई गतिशील बनाउन नेपाल राष्ट्र बैंक र निजी क्षेत्रबीच सुदृढ समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे।
नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल वृद्धि गर्न सके लगानी, उत्पादन, रोजगारी सिर्जना तथा आर्थिक वृद्धिले अपेक्षित गति लिने विश्वास मल्लले व्यक्त गरे।












प्रतिक्रिया दिनुहोस्