असारको अन्तिम दौड : कर्णाली सरकारले दुई दिनमै खर्च गर्यो १ अर्ब ५७ करोड रुपैयाँ
काठमाडौंं, २४ असार । कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम चरणमा बजेट खर्चको गति तीव्र बनाएको छ। सोमबार र मंगलबार गरी दुई दिनमै सरकारले १ अर्ब ५७ करोड ३८ लाख ९८ हजार ६९७ रुपैयाँ खर्च गरेको छ।
प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असार २१ गतेसम्म १५ अर्ब २४ करोड २६ लाख ७७ हजार ८८१ रुपैयाँ खर्च भएकोमा मंगलबार बेलुका ५ बजेसम्म खर्च बढेर १६ अर्ब ८१ करोड ६५ लाख ७६ हजार ५७८ रुपैयाँ पुगेको छ। यो चालु आर्थिक वर्षको कुल बजेटको ५० दशमलव ९६ प्रतिशत हो।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको थियो। तर आर्थिक वर्षका पहिलो ११ महिनामा बजेट कार्यान्वयन अपेक्षाअनुसार हुन सकेको थिएन।
जेठ मसान्तसम्म सरकारले कुल बजेटको ३६ दशमलव २६ प्रतिशत अर्थात् १२ अर्ब ३ करोड ५६ लाख ५ हजार ८५४ रुपैयाँ मात्रै खर्च गरेको थियो। त्यसपछि असार महिनामा खर्चको गति तीव्र बन्दै २३ दिनमै चार अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ।
प्रदेश सरकारको खर्च बुधबार र बिहीबारसम्म थप बढेर कुल बजेटको करिब ५२ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
यसअघि आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले असार मसान्तसम्म २० अर्ब ९६ करोड २० लाख रुपैयाँ अर्थात् कुल बजेटको ६३ दशमलव ५२ प्रतिशत खर्च हुने प्रक्षेपण गरेका थिए।
यता आगामी आर्थिक वर्षको बजेटमा ६ अर्ब ४१ करोड रुपैयाँ बचत रकमलाई स्रोतका रूपमा समावेश गरिएको छ। तर चालु आर्थिक वर्षमै ठूलो परिमाणमा बजेट खर्च हुन नसक्ने देखिएकाले करिब १२ देखि १३ अर्ब रुपैयाँ बजेट खर्च हुन नसकी बाँकी रहने आकलन अर्थ मन्त्रालयका अधिकारीहरूले गरेका छन्।












प्रतिक्रिया दिनुहोस्