फोनपेले सार्वजनिक गर्यो ‘चेक आउट बाई फोनपे’, अनलाइन भुक्तानी अब अझ छिटो र सहज
काठमाडौंं, २४ असार । डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले ‘चेक आउट बाई फोनपे’ नामक नयाँ अनलाइन भुक्तानी सुविधा सार्वजनिक गरेको छ। मोबाइल अनुप्रयोग र जालस्थलमार्फत किनमेल गर्ने ग्राहकका लागि भुक्तानी प्रक्रियालाई छिटो, सरल र सहज बनाउने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार परम्परागत अनलाइन भुक्तानी प्रक्रियामा ग्राहकले एउटा अनुप्रयोगबाट अर्कोमा जानुपर्ने, पटक–पटक प्रवेश विवरण भर्नुपर्ने, एकपटक प्रयोग हुने गोप्य सङ्केतमार्फत प्रमाणीकरण गर्नुपर्ने तथा पुनः व्यापारीको जालस्थलमा फर्किनुपर्ने झन्झट रहने गरेको छ। नयाँ सुविधाले यस्ता अतिरिक्त चरण हटाउँदै सिधै खरिद प्रक्रियामै भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ।
फोनपेका अनुसार जटिल भुक्तानी प्रक्रियाकै कारण धेरै अनलाइन खरिद अन्तिम चरणमा पुगेर पनि पूरा नहुने समस्या देखिँदै आएको छ। ‘चेक आउट बाई फोनपे’ ले यही समस्या समाधान गर्दै सफल कारोबारको दर बढाउनुका साथै ग्राहक अनुभवलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
हाल यो सुविधा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, कुमारी विकास बैंक, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकका मोबाइल बैंकिङ सेवामार्फत उपलब्ध छ। आगामी दिनमा थप बैंक, वित्तीय संस्था तथा व्यापारीलाई यस सेवामा आबद्ध गरिने कम्पनीले जनाएको छ।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले डिजिटल व्यापारको विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्ने बताए। उनका अनुसार नयाँ सुविधाले ग्राहकका लागि भुक्तानीलाई छिटो र सरल बनाउनुका साथै व्यापारीलाई पनि सहज कारोबार व्यवस्थापनमा सहयोग पुर्याउनेछ।
यस सुविधाको पहिलो व्यापारी साझेदारका रूपमा ‘फास्टो’ आबद्ध भएको छ। अब फास्टोमार्फत सामान अर्डर गर्ने ग्राहकले ‘चेक आउट बाई फोनपे’ प्रयोग गरी सिधै भुक्तानी गर्न सक्नेछन्।
सेवा सार्वजनिक भएको अवसरमा फोनपे र फास्टोले संयुक्त रूपमा विशेष उपभोक्ता योजना पनि सञ्चालन गरेका छन्। साउन ७ देखि १३ गतेसम्म फास्टोमार्फत अर्डर गरी ‘चेक आउट बाई फोनपे’ प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकले २० प्रतिशतसम्म रकम फिर्ता सुविधा प्राप्त गर्नेछन्। यसअन्तर्गत अधिकतम एक हजार रुपैयाँसम्म रकम फिर्ता पाइने व्यवस्था गरिएको छ।
फोनपेका अनुसार यो नयाँ सुविधाले सुरक्षित, आधुनिक र ग्राहक–केन्द्रित डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। साथै, आगामी दिनमा सेवा थप बैंक, व्यापारी र डिजिटल माध्यममा विस्तार गर्दै अझ धेरै ग्राहकसम्म पुर्याइने कम्पनीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्