वाणिज्य बैंकले अब विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने

काठमाडौ, २३ असार । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्ने व्यवस्था गरेको हो।

मौद्रिक नीतिअनुसार विदेशी मुद्रा खरिदबाट हुने तरलता व्यवस्थापनलाई सहज बनाउन वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहन गरिनेछ।

यससँगै राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि नयाँ नीति पनि लागू गर्ने भएको छ। विदेशी मुद्रा खरिदकै समयमा ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ अर्थात् मुद्रा आपूर्ति सन्तुलन कायम राख्ने व्यवस्था कार्यान्वयनमा ल्याइने मौद्रिक नीतिमा उल्लेख गरिएको छ।

के हो स्टेरिलाइज्ड इन्टरभेन्सन ?

कुनै देशको मुद्राको विनिमय दर अत्यधिक बढ्दा वा घट्दा केन्द्रीय बैंकले विदेशी मुद्रा बजारमा हस्तक्षेप गर्ने गर्छ। यस्तो हस्तक्षेपले बजारमा मुद्रा आपूर्तिमा असर पर्न सक्छ, जसले मुद्रास्फीति बढ्ने जोखिम रहन्छ।

यही जोखिम नियन्त्रण गर्न मुद्रा आपूर्तिलाई सन्तुलनमा राख्दै विनिमय दर व्यवस्थापन गर्ने प्रक्रियालाई स्टेरिलाइज्ड इन्टरभेन्सन भनिन्छ।

यसअन्तर्गत केन्द्रीय बैंकले विदेशी मुद्रा खरिद गर्दा बजारमा थपिएको रुपैयाँको आपूर्ति नियन्त्रण गर्न सरकारी ऋणपत्र बिक्री गर्ने वा अन्य माध्यमबाट अतिरिक्त तरलता फिर्ता लिने व्यवस्था गर्छ।

राष्ट्र बैंकका अनुसार हाल विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकाले वित्तीय प्रणालीमा तरलता सन्तुलित राख्न आवश्यक परे विदेशी मुद्रामै भुक्तानी गर्ने व्यवस्था समेत प्रयोग गर्न सकिनेछ।

राष्ट्र बैंकले नयाँ व्यवस्थामार्फत वित्तीय प्रणालीको तरलता व्यवस्थापन थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्