‘अब पछि नहट्नुस्’ : कांग्रेस इतर समूहको बैठकमा बलायरको शीर्ष नेतालाई आग्रह
काठमाडौ, २३ असार । नेपाली कांग्रेसको इतर समूहको बैठकमा सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले शीर्ष नेताहरूलाई अब पछि नहटी अघि बढ्न आग्रह गरेका छन्।
इतर समूहले चुनदेवीमा सञ्चालन गरेको सम्पर्क कार्यालयमा मंगलबार बसेको बैठकमा बोल्दै बलायरले सभापति गगन थापाले सदस्यता अद्यावधिक नगरेका नेतालाई पार्टी सदस्यका रूपमा नचिन्ने अभिव्यक्ति दिइसकेपछि आफ्नो पक्षले स्पष्ट निर्णय लिनुपर्ने बताएका हुन्।
“अद्यावधिकबाहेक ‘नो’ भनिसकेपछि अब के भनेर रोक्ने ?” उनले भने।
बलायरले संस्थापन पक्षलाई आफूहरू लामो समयसम्म संयमित भएर अवसर दिएको उल्लेख गर्दै त्यसलाई कमजोरीका रूपमा नलिन चेतावनी दिए।
“हामी चुप बसेका छौं, व्यवहारमुखी बनेका छौं र मौका दिएका छौं। यसलाई कमजोरी नठानियोस्,” उनले भने।
उनले कार्यकर्ताबाट पनि अब पछि नहट्न दबाब आइरहेको दाबी गरे।
“अब बाटो लिएका छौं, गति लिन्छौं। अब पनि रुख भनेर माया मारेर बसिरहन जरुरी छैन,” उनले भने।
बलायरले नेताहरूलाई विगतको इतिहासको भरमा निर्णय नगर्न आग्रह गर्दै सम्मान कायम राख्दै दृढतापूर्वक अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
“इतिहासको मात्रै कुरा गरेर नझुक्नुस्। सम्मान हामीले गरेकै छौं,” उनले भने।
उनले आफूहरू शीर्ष नेताको साथमा रहेको उल्लेख गर्दै आवश्यक परे जनतामाझ पुगेर संघर्ष गर्न पनि तयार रहेको बताए।
“आटो–ढिँडो खाएर भए पनि जनतामाझ जान तयार छौं। कार्यक्रम दिनुस्, हामी मैदानमा जान्छौं,” उनले भने।
बलायरले इतर समूहका नेताहरूलाई अब सानेपातर्फ नहेरी आफ्नै बलमा अघि बढ्नुपर्ने समय आएको पनि बताएका छन्।












प्रतिक्रिया दिनुहोस्