मौद्रिक नीति सार्वजनिक, निजी क्षेत्रमा कर्जा प्रवाह ११ प्रतिशतले बढाउने लक्ष्य
काठमाडौ, २३ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ।
गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ। साथै मुद्रास्फीति दर ५.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य पनि निर्धारण गरिएको छ।
गभर्नर पौडेलले मौद्रिक नीतिको लचिलो कार्यदिशालाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको बताए।
मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्थालाई शाखा स्थापना तथा आवश्यकताअनुसार शाखा समायोजन गर्न सहज व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्थाको सञ्चालन लागत घटाउन आवश्यक नीतिगत व्यवस्था पनि मौद्रिक नीतिमा समावेश गरिएको राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, बैंक दर, नीतिगत दर, निक्षेप सङ्कलन दर, अनिवार्य नगद मौज्दात अनुपात र वैधानिक तरलता अनुपात भने हाल कायम रहेको व्यवस्थालाई नै निरन्तरता दिइएको गभर्नर पौडेलले जानकारी दिए।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आर्थिक गतिविधि विस्तार, वित्तीय स्थायित्व कायम राख्ने र उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउने लक्ष्य अघि सारेको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्