सिँचाइ र कृषि उत्पादनलाई एकीकृत योजनामा अघि बढाउने ऊर्जा र कृषि मन्त्रालयको तयारी
काठमाडौ, २३ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार विकास र कृषि उत्पादनलाई एकीकृत रूपमा अघि बढाउने भएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा सिँचाइ, कृषि उत्पादन, कृषि सेवा तथा बजारीकरणलाई एउटै योजनाअन्तर्गत अघि बढाउने विषयमा छलफल भएको हो।
छलफलका क्रममा मन्त्री श्रेष्ठले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तारका लागि सरकारले ठूलो लगानी गरिरहेको उल्लेख गर्दै सिँचाइपछि आवश्यक पर्ने उन्नत बीउ, मल, प्रविधि, प्राविधिक सेवा र कृषि उपजको बजारीकरणलाई पनि प्रभावकारी बनाउनुपर्ने बताए।
उनले सिँचाइ र कृषिसम्बन्धी कार्यक्रमलाई मन्त्रालयगत सीमाभन्दा माथि उठेर एकीकृत योजनाका रूपमा कार्यान्वयन गर्नुपर्ने प्रस्ताव राखे।
कृषिमन्त्री चौधरीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै आगामी दिनमा दुवै मन्त्रालयबीच नीति निर्माण, कार्यक्रम छनोट र कार्यान्वयन तहसम्मको समन्वयलाई थप प्रभावकारी बनाउने बताइन्।
यसअघि मन्त्री श्रेष्ठले पश्चिम नेपालका प्रमुख सिँचाइ आयोजनाहरूको स्थलगत अनुगमन गरेका थिए। उनले रानी–जमरा–कुलरिया, सिक्टा, बबई तथा राजापुर सिँचाइ प्रणालीको निरीक्षण गर्दै किसान, आयोजना प्रमुख र प्राविधिकहरूसँग छलफल गरेका थिए।
अनुगमनका क्रममा आयोजनाको प्रगति, सञ्चालनका चुनौती र किसानका आवश्यकताबारे प्रत्यक्ष जानकारी लिइएको थियो।
बर्दियामा निर्माणाधीन बबई सिँचाइ आयोजनाले जिल्लाका छ वटा स्थानीय तहका करिब ३६ हजार हेक्टर कृषि जमिनमा वर्षभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ।
त्यस्तै, कैलालीको रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाबाट करिब ३७ हजार ८०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य छ।
बाँकेको सिक्टा सिँचाइ आयोजनाले ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित काम गरिरहेको छ।
यी आयोजनाहरूमा मूल नहर, शाखा तथा उपशाखा नहर, तटबन्ध, जलाशय र लिफ्ट सिँचाइ प्रणाली विस्तारको काम भइरहेको छ। आयोजनाहरू पूर्ण रूपमा सम्पन्न भएपछि पश्चिम नेपालको कृषि उत्पादन र उत्पादकत्व वृद्धि हुने, खाद्य सुरक्षा बलियो बन्ने तथा किसानको आयआर्जनमा सुधार आउने सरकारको अपेक्षा छ।












प्रतिक्रिया दिनुहोस्