बालविवाह न्यूनीकरण वर्ष मनाइदै
जाजरकोट । बिहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्ष बालविवाह न्यूनीकरण वर्षको रुपमा मनाइने भएको छ ।
सामाजिक दबाब बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरिने निर्णय गरिएको छ । चितारा युवा संरक्षकमञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ आंै वार्षिकोत्सवको अवसरमा २०७५ साललाई बालविवाह न्यूनीकरण गर्ने वर्षको रुपमा मनाउने निर्णय गरेको हो ।
स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवाला सबैलाई साथमा लिएर यो वर्ष बालविवाह न्यूनीकरण अभियानकै रुपमा लाग्ने संस्थाका अध्यक्ष रामजंग शाहले बताए । उनले भने,–“एकै पटक बालविवाह अन्त्य गर्न नसके पनि जनचेतनाका माध्यमबाट जिल्लाभर अभियान छाड्ने छांै र धेरै हदसम्म बालविवाह न्यूनीकरण हुनेछ ।”
बालविवाह न्यूनीकरणका लागि संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्य र कर्मचारीले सात बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । आफ्नो घरपरिवारमा बालविवाह पूर्ण रुपमा निषेध गर्ने, बालविवाहको भोज, निम्ता, जन्ती र बाजा वहिष्कार गर्ने, बालविवाहलाई बढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि काम नगर्ने, समुदायमा बालविवाह न्यूनीकरणका लागि पैरवी गर्ने, कार्यक्रम सञ्चालन गर्ने जस्ता प्रतिबद्धता गरिएको छ ।
कार्य योजनामा बालविवाह न्यूनीकरणका लागि विद्यालय अभियान, किशोरकिशोरी कार्यक्रम, आमसञ्चारका माध्यमबाट जनचेतना फैलाउने, बालविवाह गर्नेलाई सामाजिक वहिष्कार गर्ने जस्ता दबाबमूलक कार्यक्रम समेत अभियानमा समेटिने पाँच तारा युवा संरक्षक मञ्चकी बाल अधिकृत अञ्जु भट्टराईले बताइन् ।
जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, जिल्ला प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंह लगायतका सरोकारवालाले पनि बालविवाह न्यूनीकरणको अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्