हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले ३३ लाख रुपैयाँ निकासा गर्‍यो

काठमाडौ, २३ असार । हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले ३३ लाख रुपैयाँ निकासा गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। उक्त प्रस्ताव स्वीकृत भएपछि अर्थ मन्त्रालयले रकम निकासा गरेको हो।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने सरकारको तयारी र यसको मोडालिटीबारे प्रश्न उठाएका थिए।

जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उद्योग सञ्चालनका लागि आवश्यक रकम निकासा भइसकेको जानकारी दिइन्।

उनले भनिन्, “कपडा उद्योगको हकमा ३३ लाख रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयमा लेखी पठाएका छौं। त्यो रकम निकासा भइसकेको छ।”

मन्त्रीका अनुसार रकम निकासा भएसँगै उद्योगको मर्मतसम्भारको काम अघि बढाइएको छ। उनले केही महिनाभित्रै हेटौंडा कपडा उद्योग सञ्चालनमा आउने विश्वास व्यक्त गरिन्।

सरकारले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी गर्दै आएको छ। उद्योग सञ्चालनका लागि आवश्यक संरचना, व्यवस्थापन र सञ्चालन मोडालिटीबारे समेत काम भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्