हेटौंडामा साझा यातायात बस सञ्चालनमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा शनिवारबाट साझा यातायात बस सञ्चालनमा आएको छ ।

हेटौंडा बजार क्षेत्र र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका अटो, मयुरीले यहाँका यात्रुहरुसँग बढी भाडा असुल गरेर हैरान बनाएपछि साझा यातायात सञ्चालनमा ल्याइएको हो । हेटौंडा उपमहानगरपालिकासँगको समन्वयमा मकवानपुर साझा यातायात प्रालिले शनिवार बाट औपचारिक रुपमा एउटै रंगका ११ वटा बस सञ्चालनमा ल्याएको छ ।

साझा यातायातको औपचारिक रुपमा उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक यात्रुलाई मुस्कानसहितको सेवा दिनका लागि निर्देशन दिए । साना खालका अटो तथा मयुरीमा असुरक्षित तरिकाले यात्रा गरिरहेका यात्रुहरुको समस्यालाई मध्यनजर गरेर आरामदायी र सुरक्षित यात्राका लागि निजी कम्पनीसँगगको समन्वयमा बस सञ्चालनमा ल्याइएको मेयर महतले बताए ।

हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रमपछि मेयर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक लाकेन्द्र श्रेष्ट, हेटौंडाका विभिन्न वडाका वडाध्यक्षलगायतलाई बसमा चढाएर मकवानपुर साझा यातायतको उद्घाटन गरिएको थियो ।

हेटौंडाको बुद्धचोकदेखि पिपलबोट, लोकप्रियचोक, नगरपालिका रोड, सिंचाइटोल, कान्तिलोकपथ हुँदै रापती रोडमा आएर अतिथिहरुलाई यात्रा गराएपछि बस सञ्चालनमा आएको छ । हेटौंडाका सबैजसो वडाका नागरिकलाई सुरक्षित यात्रा गराउनु उपमहानगरपालिकाको पनि दायित्व भएकाले यो सेवा अझै बिस्तार गरिने उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस्