स्वास्थ्यमन्त्री मेहताविरुद्ध फेसबुक पोस्ट गर्ने स्वास्थ्यकर्मी नवेश पक्राउ,स्वास्थ्यकर्मीको विरोध

काठमाडौ, २३ असार । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई सोमबार साँझ करिब ७:३० बजे जनकपुरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

अधिकारीको पक्राउपछि स्थानीय स्वास्थ्यकर्मीहरूले विरोध जनाउँदै उनलाई मन्त्रीको आलोचना गरेकै कारण पक्राउ गरिएको आरोप लगाएका छन्। उनीहरूले पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको दाबी पनि गरेका छन्।

अधिकारीका एक सहकर्मीका अनुसार उनी हेल्थ असिस्टेन्ट हुन्। उनी निजी स्वास्थ्य संस्थामा कार्यरत रहेकामा हाल लोकसेवा आयोगको तयारी गरिरहेका थिए।

सहकर्मीले भने, “उहाँले स्वास्थ्यमन्त्रीले गरेका कामको सामाजिक सञ्जालमार्फत आलोचना गर्दै आउनुभएको थियो। त्यही कारण पक्राउ गरिएको हुनसक्ने हाम्रो अनुमान छ।”

गत शनिबार अधिकारीले आफ्नो फेसबुकमा स्वास्थ्यमन्त्री निशा मेहताको तस्वीरमा रातो क्रस चिन्ह लगाउँदै “माफिया मन्त्री” लेखेर पोस्ट गरेका थिए।

त्यसपछि उनले अर्को स्टाटसमा लेखेका थिए:

“निशा मेहता, तिमी सरकारले प्रत्येक अस्पतालमा गरीब जनताका लागि १० प्रतिशत बेडको व्यवस्था पनि मधेशका कुनै अस्पतालमा लागू गराउन सकेकी छैनौँ। अख्तियार के गर्दैछ? लाज बेचिसक्यौ भने स्वास्थ्य मन्त्री पदबाट राजीनामा देऊ।”

स्वास्थ्यकर्मीहरूका अनुसार यही फेसबुक पोस्टका आधारमा साइबर ब्युरोमा उजुरी परेको हुनसक्ने र त्यसपछि उनलाई पक्राउ गरिएको हुनसक्ने आशंका गरिएको छ।

यस घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषा र नेपाल प्रहरीको साइबर ब्युरोले औपचारिक रूपमा पक्राउको कारण सार्वजनिक गरिसकेका छैनन्। पक्राउको वास्तविक कारणबारे आधिकारिक जानकारी आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्