राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने, आर्थिक वृद्धिलाई टेवा दिने लचिलो व्यवस्था आउने

काठमाडौ, २३ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ।

राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार अहिले व्यवस्थापन समितिको बैठक जारी छ। उक्त बैठक सम्पन्न भएपछि सञ्चालक समितिको बैठक बस्नेछ। सञ्चालक समितिबाट स्वीकृत भएलगत्तै आजै मौद्रिक नीति सार्वजनिक गरिने तयारी गरिएको छ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले मौद्रिक नीति आजै सार्वजनिक गर्न लागिएको हो।

यस वर्ष मौद्रिक नीतिको स्वरूपमा समेत परिवर्तन गरिने भएको छ। नियामकीय व्यवस्थालाई मौद्रिक नीताभित्र समावेश नगरी आवश्यक व्यवस्था नियमित परिपत्रमार्फत लागू गर्ने तयारी गरिएको राष्ट्र बैंकले जनाएको छ। यसबाट मौद्रिक नीति मुख्यतः समष्टिगत आर्थिक व्यवस्थापन र नीतिगत दिशामा केन्द्रित हुने अपेक्षा गरिएको छ।

सरकारले चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ। सो लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी उत्पादन, लगानी, निजी क्षेत्रको सक्रियता र कर्जा प्रवाहलाई प्रोत्साहन गर्ने लचिलो मौद्रिक नीति ल्याइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्