चलचित्र विधेयकमाथि प्रतिनिधिसभामा १२२ संशोधन प्रस्ताव दर्ता
काठमाडौंं, २२ असार । चलचित्र सम्बन्धी विधेयकमाथि प्रतिनिधिसभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। विभिन्न दलका सांसदहरूले २४ समूहमा विभाजन गरी संशोधन प्रस्ताव पेस गरेका हुन्।
संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूमा खड्ग शाही, निश्कल राई, वासना थापा, सुशिला ढकाल (आचार्य), सन्तोष सुब्बा, रेखा कुमारी यादव, रेनुका काउँचा, कमल सुवेदी, सरस्वती लामा, गंगालक्ष्मी अवाल, भीमकुमारी बुढामगर, गुरुप्रसाद बराल, पार्वती विक लगायत रहेका छन्।
त्यस्तै मनिष झा, रिमा विश्वकर्मा, समीक्षा बास्कोटा, सुलभ खरेल, गणेश कार्की, अनुश्का श्रेष्ठ, विपिनकुमार आचार्य, ज्ञानबहादुर शाही, गणेशबहादुर विश्वकर्मा, भूमिका लिम्बु सुब्बा, प्रकाशचन्द्र परियार, रमेशकुमार मल्ल र भूमिका श्रेष्ठले पनि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका छन्।
यो विधेयक २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो। राष्ट्रिय सभाबाट माघ २८ गते पारित भएपछि विधेयक प्रतिनिधिसभामा पुगेको हो। हाल प्रतिनिधिसभामा विधेयकमाथि छलफलको प्रक्रिया जारी छ।
सरकारले विक्रम संवत् २०२६ सालदेखि लागू रहेको चलचित्र ऐनलाई समयानुकूल परिमार्जन गर्न नयाँ विधेयक ल्याएको जनाएको छ। नयाँ कानुनमार्फत संघीय शासन व्यवस्था, समावेशिता तथा आधुनिक प्रविधिअनुसार चलचित्र क्षेत्रलाई व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक तथा मनोरञ्जन उद्योगका रूपमा विकास गर्ने, नेपाललाई चलचित्रमार्फत पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने, स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शनअघि परीक्षणको व्यवस्था गर्ने तथा चलचित्र उद्योगको विकास, विस्तार, प्रवर्द्धन र नियमनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको हो।












प्रतिक्रिया दिनुहोस्