एडीबी अध्यक्ष मासातो कान्दा नेपालमा, प्रधानमन्त्री बालेन्द्र शाहसँग एकल भेट हुने

काठमाडौंं, २२ असार । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो कान्दा तीनदिने औपचारिक भ्रमणका लागि उच्चस्तरीय प्रतिनिधिमण्डलसहित काठमाडौं आइपुगेका छन्। आइतबार राति नेपाल आएका कान्दाको भ्रमणलाई विकास साझेदारीसँगै कूटनीतिक दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ।

भ्रमणका क्रममा अध्यक्ष कान्दाले प्रधानमन्त्री बालेन्द्र शाहसँग एकल भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान साढे १० बजे हुने उक्त भेट प्रधानमन्त्री शाहसँग कुनै विदेशी उच्च अधिकारीको पहिलो एकल भेट हुने बताइएको छ।

सोमबार अध्यक्ष कान्दाले अर्थमन्त्री स्वर्णिम वाग्ले तथा अन्य सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। यसैक्रममा नेपाल सरकार र एडीबीबीच ५ करोड अमेरिकी डलर बराबरको ऋण सम्झौतामा हस्ताक्षर हुने तय भएको छ। उक्त सहयोग भन्सार प्रशासनको आधुनिकीकरण तथा व्यापार सहजीकरणका लागि प्रयोग गरिने जनाइएको छ।

भ्रमणका क्रममा कान्दाले एडीबीको सहयोगमा सञ्चालन भइरहेका विभिन्न विकास आयोजनाको स्थलगत निरीक्षण पनि गर्नेछन्। प्रतिनिधिमण्डलमा दक्षिण, मध्य तथा पश्चिम एसियाका लागि एडीबीकी उपाध्यक्ष सोना श्रेष्ठ पनि सहभागी रहेकी छन्।

परराष्ट्र मामिलाका जानकारहरूले प्रधानमन्त्री शाहले विदेशी उच्च अधिकारीसँगको भेटघाटमा अपनाएको कार्यविधिलाई संस्थागत कूटनीतिलाई प्राथमिकता दिने प्रयासका रूपमा व्याख्या गरेका छन्। उनीहरूका अनुसार यसले नेपालको परराष्ट्र सम्बन्धलाई राज्य–केन्द्रित र व्यवस्थित बनाउने संकेत गरेको छ।

जापानको अर्थ मन्त्रालयमा लामो समय कार्यरत रहेका मासातो कान्दा नोभेम्बर २०२४ मा एडीबीको ११औँ अध्यक्षमा निर्वाचित भएका हुन्। मंगलबार प्रधानमन्त्रीसँगको भेटपछि उनी नेपाल भ्रमण सम्पन्न गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्