आईएमएफको उच्चस्तरीय टोलीको नेपाल भ्रमण सम्पन्न, आर्थिक सुधार र विकासमा केन्द्रित छलफल

काठमाडौं, २१ असार । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्राको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण सम्पन्न गरेको छ।

आईएमएफले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा टोलीले नेपाल सरकारका उच्च अधिकारी तथा प्रतिनिधिसभाको अर्थ समितिका सांसदहरूसँग नेपालको अर्थतन्त्रका विविध पक्षबारे छलफल गरेको थियो।

प्रतिनिधिमण्डलमा नेपालका लागि आईएमएफका मिसन प्रमुख डा. सरवत जहाँ र आवासीय प्रतिनिधि प्रणव गुप्ता पनि सहभागी थिए। टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसँग भेटवार्ता गरेको थियो।

भेटका क्रममा नेपालको समष्टिगत आर्थिक अवस्था, दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा संरचनागत सुधारलाई अघि बढाउने नीतिगत प्राथमिकताका विषयमा छलफल भएको आईएमएफले जनाएको छ।

प्रतिनिधिमण्डलले प्रतिनिधिसभाको अर्थ समितिका सदस्यहरूसँग पनि अन्तरक्रिया गर्दै नेपालसँगको सहकार्य, हालै सम्पन्न विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रम तथा आगामी आर्थिक सुधारका विषयमा प्रस्तुतीकरण दिएको थियो। त्यस अवसरमा सांसदहरूले पनि नेपालको आर्थिक प्राथमिकता र सुधारका एजेन्डाबारे आफ्ना धारणा राखेका थिए।

भ्रमणपछि डा. जैन–चन्द्राले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र संसदीय अर्थ समितिसँग भएको छलफल फलदायी रहेको बताउँदै नेपालको आर्थिक विकास र सुधारका प्रयासमा आईएमएफको सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्