दक्षिण कोरियाको ई–७ भिसामा म्यानपावरमार्फत श्रमिक पठाउने प्रक्रिया पुनः सुरु
काठमाडौं, २१ असार । दक्षिण कोरियाको ई–७ भिसामा म्यानपावर कम्पनीमार्फत श्रमिक पठाउने प्रक्रिया पुनः अघि बढ्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले असार १५ गते यसअघि रोकिएको व्यवस्था अघि बढाउने निर्णय गरेको हो।
मन्त्रालयका अनुसार नेपालस्थित कोरियाली दूतावासबाट प्राप्त कूटनीतिक नोट तथा उच्च अदालत पाटनले विभिन्न समयमा जारी गरेका आदेशलाई आधार मान्दै प्रक्रिया पुनः सुरु गरिएको हो।
यसअघि तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले ई–७ भिसामा म्यानपावरमार्फत श्रमिक पठाउने कार्यविधि ल्याएका थिए। तर चौतर्फी विरोधपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त व्यवस्था खारेज गर्न निर्देशन दिएका थिए।
त्यसपछि श्रममन्त्री बनेका डोलप्रसाद (डीपी) अर्यालले समेत उक्त व्यवस्था खारेज गरेका थिए। पछि पुनः श्रममन्त्री बनेका भण्डारीले कार्यविधिमा दोस्रो संशोधन गर्दै व्यवस्था फेरि अघि बढाएका थिए।
तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रक्रिया रोक्न निर्देशन दिएपछि काम स्थगित भएको थियो। सो निर्णयविरुद्ध म्यानपावर व्यवसायीहरूले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए, जसपछि अदालतले प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको हो।
यससँगै मन्त्रालयले अब ई–७ भिसामा म्यानपावरमार्फत श्रमिक पठाउने निर्णय कार्यान्वयनमा लैजाने तयारी गरेको छ। हाल कोरियामा ईपीएसमार्फत अदक्ष श्रमिक जाने व्यवस्था छ भने ई–७ भिसामा सीपयुक्त श्रमिक पठाइनेछ।












प्रतिक्रिया दिनुहोस्