इच्छाकामनाका प्रमुख प्रशासकीय अधिृकतमाथि आक्रमण्म गर्नेलाई तत्काल कारबाही गर्न ६ पालिकाका प्रमुख माग

काठमाडौं, २१ असार । चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत चन्द्रकान्त बस्नेतमाथि कुटपिट गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जिल्लाका ६ पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले माग गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले जनताको सेवामा खटिरहेका राष्ट्रसेवकमाथि कार्यालयमै गरिएको आक्रमणको घटनाका दोषीहरु अझैसम्म फरार रहेको भन्दैं तत्काल पक्राउ गर्न र कार्यालयमा काम गर्ने वातावरण बनाउन माग गरिएको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र भारती, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, राप्ती नगरपालकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल र माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा विधिको शासन र राज्यको प्रशासनिक सार्वभौमिकताको उपहास गर्दै आपराधिक एवम् निहित स्वार्थप्रेरित समूहद्वारा सुनियोजित ढंगले गरिएको घटना केवल एक कर्मचारीमाथिको प्रहार नभइ समग्र सार्वजनिक प्रशासन संयन्त्र र विधिको शासन माथिको चुनौती भएको उल्लेख गरिएको छ ।

यो घटनाले कानुनी शासनको उपहास मात्र गरेको नभइ राष्ट्रसेवक कर्मचारीहरू कार्यस्थलमै असुरक्षित रहने र भयभित वातावरणमा काम गर्नुपर्ने गम्भीर संकटसमेत सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

असार १८ गते बिहान ११ बजे कार्यालयमा काम गरिरहेका बस्नेतमाथि खोलाबाट ढुंगा गिट्टी बालुवा निकाल्ने एक समूहले आक्रमण गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै आक्रमण गरेको चार दिन बितिसक्दा पनि घटनाका मुख्य दोषीहरु पक्राउ परेका छैनन् । प्रहरीले घटनामा संलग्न भनिएका ६ जनामध्ये अहिलेसम्म जम्मा २ जनालाई मात्र नियन्त्रणमा लिएको छ।

घटनाका दोषी भनिएका किंगफिसर कन्स्ट्रक्सनका प्रोपाइटर लालबहादुर तामाङसहित ४ जना अझै पनि फरार छन् । पीडित प्रमुख प्रशासकीय अधिकृत बस्नेतले घटनाका दोषीहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका छन् ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा खगेरी खोला उत्खनन्का लागि ठेक्का पाएको किंगफिसर कन्स्ट्रक्सन तथा सप्लार्यसले सम्झौता बमोजिमको नदीजन्य सामाग्री निकालेको अनुगमनका क्रममा देखिए पछि गाउँपािलकाले खोला बन्द गरेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको निर्देशनमा पालिकाले अनुगमन गरेर उत्खनन् रोकेको थियो ।

पालिकाले खोला उत्खनन गर्न नदिएको भन्दै चितवन जिल्ला अदालतमा किंगफिसर कन्स्ट्रक्सनले दिएको मुद्दासमेत हारेपछि प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि उनीहरुको समूहले कार्यकक्षमा नै आक्रमण गरेका हुन् ।

घाइते भएका बस्नेतले परिवार र आफ्नोसमेत ज्यान मार्ने धम्की दिइएकोले घटनाका दोषीहरु पक्राउ नपरेसम्म काम गर्न नसक्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्